केन्द्रीय संस्करण
मेरो जीवन

सीमाविद् बुद्धिनारायण श्रेष्ठको जीवन : अरूले दिएको उपाधि मलाई मान्य छैन

person explore access_timeअसोज १०, २०७७ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का

बुद्धिनारायण श्रेष्ठ नेपालका भूगोल तथा सीमाविद् हुन् । नापी, सिमाना र सीमा व्यवस्थापन विषयमा श्रेष्ठले 'कित्ता नापी जनउपयोगका लागि, नेपालको सिमाना, राष्ट्रिय सुरक्षाका सन्दर्भमा सीमा व्यवस्थापन, सिमानाको ज्ञान, नेपाल सीमावर्ती बाँध'लगायत आधा दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । नापी विभागमा अधिकृतदेखि निर्देशकसम्म भएर  २६ वर्ष काम गरेका उनले नेपालको सिमाना, सीमा व्यवस्थापन, समस्या तथा समाधानका उपाय, राज्य पुनः संरचना, सुरक्षा सरोकार, संविधान लेखनमा सिमाना आदि सम्बन्धी अमेरिकाका ५ राज्य, लन्डन, मस्को, टोकियोे, बेजिङ, सोल लगायत विदेश र स्वदेशमा गरी ४० भन्दा बढी प्रवचन प्रस्तुत गरिसकेका छन् । उनका दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका, म्यागेजिन र अनलाइनमा समेत सीमाको विषयमा थुप्रै लेख रचना प्रकाशन भएका छन् । श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत थुप्रै हासिल गरेका छन् । कालापानी, सुस्ता जस्ता राष्ट्रको सीमा मामिला सम्बन्धमा टेलिभिजन, रेडियो, एफएम र अनलाइनमा अचेल दैनिकजसो सीमाविद्का रूपमा छाउने गरेका उनी आफूलाई सीमाविद् भन्दा पनि सीमा अध्येता भन्न रुचाउँछन् । लाइब्रेरी अफ कङ्ग्रेस (अमेरिका), ब्रिटिस लाइब्रेरी (लन्डन), नेसनल लाइब्रेरी अफ् चाइना (बेजिङ) तथा नेपालको राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, मदन पुस्तकालयमा नेपालको ऐतिहासिक सीमा नक्सा तथा सन्दर्भ सामग्रीको अध्ययन अनुसन्धानकर्ता समेत रहेका बुद्धिनारायण श्रेष्ठको जीवनका विभिन्न पाटाहरु रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा राखेको छ । 

मेरो खाना
नेपाली खाना दालभात, रायोको साग, तितेकरेला भुटेको तरकारी र गोलभेडा पोलेर बनाएको अचार मेरो मनपर्ने खानेकुरा हो । यो मेरो बिहानको नियमित खाना पनि हो । बेलुका भने रोटी, दाल र हल्का सुप खान्छु ।
खाजामा चिउरा, तरकारी र दलामोट मिसाएर खान मनपर्छ । डुङ्डुङ्गेको साग मनपर्दैन । माछामासु मज्जाले खान्छु । एक्लै कहिलै रेस्टुरेन्ट जाने गरेको छैन । आफ्नो फेमिली, श्रीमतीको माइतको फेमिलीसँग रेस्टुरेन्ट जान्छु ।
कोरोना अगाडि महिनाको दुई पटकसम्म रेस्टुरेन्टमा गेटटुगेदर कार्यक्रम समेत आयोजना हुन्थ्यो । रेस्टुरेन्टको चिकेन बिर्यानी, चिकेन फ्राई, सलाद, सुप र कपी धेरै मनपर्छ । 

मेरो फिट्नेस
फिटनेसमा सजग छु म । बिहान उठेर नित्यकर्म सकाएपछि घरको कोठाभित्रै १५, २० मिनेट जगिङ गर्छु । त्यसपछि करिब ४५ मिनेट शरीरका विभिन्न भागका लागि एक्सरसाइज गर्छु ।
मेरो घरमा एक्सरसाइजका लागि ट्रेडमिल पनि छ । बेलुका सधैँ आधा घण्टा त्यसमा हिँड्छु । एक्सरसाइजबाट मात्र फिट एन्ड फाइन रहन सकिन्छ भन्ने मेरो मान्यता छ । 
 
मेरो पोसाक
पोसाकमा मेरो खासै रुचि छैन । पहिले खैरो रङ्गको पहिरन मनपथ्र्यो । मन पर्नुको कारण छिट्टै महिलो नहुने भएर हो । हिजोआज धेरैले टिभीमा झिल्काई राखेका (अन्तवार्ता लिइरहेका) छन् । त्यसका लागि कलरफुल पहिरन राम्रो हुने भएकाले निलो कमिजमा धर्के पाइन्ट, गुलाबी कमिजमा निलो कोट जस्ता कलर मिलाएर कलरफूल पोसाक प्रयोग गर्न थालेको छु ।
पहिरन रेडिमेट नै किन्छु । विदेश जाँदा चिनो भनेर सधैँ किनेर ल्याउने गरेको छु । पहिरनमा ब्रान्डेड मनपर्छ । ब्रान्डेड बलियो, भरपर्दाे हुने विश्वास छ ।

मेरो अध्ययन 
मेरो काम नै अध्ययन र लेखन हो । लेख्नका लागि पनि अध्ययन नगरी हुँदैन । बिहान हल्का पत्रिका पढ्छु । त्यसपछि ल्यापटपमा लेख्न बस्छु । लेखनका लागि चाहिने सामग्रीका लागि पनि पुस्तकहरु पढ्नैपर्छ । एक पन्ना लेख्नका लागि दस पन्ना पुस्तक अध्यायन गर्नुपर्छ भनेर एउटा कविले भनेका थिए । म त्यो सधैँ सम्झन्छु ।  
अध्ययनमा मलाई बोडर इस्यु भएका पुस्तकहरु मनपर्छ । म जहाँ गए पनि यस्ता इस्युका किताब किनेर घर ल्याउँछु । सन् २०१८ मा म नाइजेरिया र बेरिनको अन्तर्राष्ट्रिय सम्मेलनमा पेपर प्रिजेन्टेसनका लागि गएको थिए । त्यहाँको किताब पसलबाट ‘बोडर रिजन देन अफ्रिका’ भन्ने किनेर ल्याए । सीमासम्बन्धी धेरै किताब अध्ययन गर्छु ।

मेरो फुर्सद
धाक लगाएको जस्तो हुन्छ । तर यो रियालटी हो । मलाई फुर्सद छँदैछैन । फुर्सदमा बस्न पनि मन पर्दैन । पहिला पहिला फुर्सद लिने गरेको थिइनँ । कोरोनाको कहर बढेयता ढिलो खाना खाने भएकाले दिउँसो केही समय अचेल फुर्सद लिने गरेको छु ।
सन् २०१९ को डिसेम्बरमा युरोपको लासाभियाबाट मैले ४३६ पन्नाको किताब निकालेको थिएँ । त्यसपछि अरू दुई पुस्तकको तयारीमा अहिले छु । यी अन्तिम चरणमा छन् । विदेशमा रहँदा अङ्ग्रेजीमा किताब निकालेको थिए । अहिले नेपालीमा ल्याउँदैछु ।
अहिले ल्याउन लागेको पुस्तक नेपाल सरकारलाई पनि ठूलो काम लाग्ने ठानेको छु । अबको एक महिनाभित्र आउँछ होला । अर्काे एक अङ्ग्रेजी किताब पनि लेख्दैछु । त्यसैले पनि अहिले फुर्सद नभएको हो । 

मेरो घुमघाम
घुमघामा असाध्यै रुचि छ । देश विदेश घुम्न मनपर्छ । अन्तर्राष्ट्रिय सीमा सम्मेलन, सेमिनार लगायतमा वर्षको एक पटक त पुगेकै हुन्छु । पुग्ने मेरो प्रण पनि रहेको छ । म जहाँ पुग्छु छेउछाउका देशहरु समेत घुमेर फर्किन्छु ।
अहिलेसम्म ३५ देश र स्वदेशका ६८ जिल्ला घुमिुसकेँ । ताप्लेजुङ, हिमाली क्षेत्र हुम्ला, जुम्ला, डोल्पालगायत पुग्न बाँकी छ । ताप्लेजुङ पुग्न अहिले सारै इच्छा जागेको छ ।

मेरो खेलकुद
विद्यार्थी जीवनमा खेलडी थिएँ । धेरै खेल खेल्थे । विशेषतः फुटबलमा रुचि थियो । फुटबलमा पनि गोलकिपर भएर खेल्थेँ ।
सन् १९६६÷६७ मा म कोलकोत्ताको वेस्टबङ्गाल इन्टिच्युटमा अध्ययन गर्दै थिएँ । त्यहाँ हुने फुटबलको टुर्नामेन्टमा गोलकिपर भएर खेलँे । हेर्न पनि मनपर्छ फुटबल । पहिले दशरथ रङ्गशालामा भएका खेलहरु हेर्न जान्थेँ ।
टेबलटेनिसमा पनि रुचि छ । यो अहिले पनि खेल्छु अहिले टिभीमा फुटबल र टेबलटेनिस गेमहरु हेर्छु ।

मेरो मोबाइल
मसँग अहिले सामसुङ जे सेभन ब्रान्डको एउटा मोबाइल छ । पहिले दुईवटा सिम भएको थियो । त्यसमा एउटा एनटीसी र अर्काे एनसेएल चलाउँथे । त्यो धेरै ह्याङ भएकाले अहिले एउटा सिम भएको बोक्न थालेको छु ।
अनलाइन समाचार हेर्न, इमेल, फेसबुक, ट्विटर, एसएमएस, भाइबर, ह्वाट्सएप, इन्स्टाग्राम लगायत चलाउन मोबाइल प्रयोग हुँदै आएको छ । 

मेरो टिभी
पहिले म टिभी कमै हेर्थें । अहिले कोरोना भाइरस बढेर आएको कारण समाचारका लागि धेरै हेर्ने थालेको छु । टिभीमा टिभी फिल्मी भन्ने पनि हेर्छु । एक पटक यो टिभीले मेरो अन्तरवार्ता समेत लिएको थियो । सोही क्रममा तपाईंको इच्छा के छ भनेर सोधेका थिए ।
मैले अभिनेत्री रेखा थापासँग एक पटक नाच्ने इच्छा रहेको बताएको थिएँ । त्यो इच्छा अहिलेसम्म पनि मरेको छैन । पूरा हुन्छ हुँदैन थाहा छैन ।

मेरो चलचित्र
कहिलेकाहीँ फिल्म हेर्छु । हलमै गएर पनि हेर्छु । धेरै पहिले ‘के घर के डेरा’ हेरेको थिएँ । नेकपा माओवादीका कृष्ण केसीले बनाएको एक डकुमेन्ट्री फिल्म कुमारी चलचित्र घरमै गएर केही अगाडि हेरेको हो ।
पछिल्लो समय हेरेको चलचित्र ‘छक्का पन्जा’ पनि हो । यो चलचित्र अमेरिकाको हलमै हेरेको थिएँ ।
   
मेरो गीतसङ्गीत
गीत सङ्गीत मनपर्छ । म पनि गुनगुनाउने गर्छु । आधुनिक, सेन्टिमेन्टल गीतहरु नै बढी मनपर्छ । गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ धेरै घत लागेको थियो । अहिले पनि कहिलेकाहीँ यो पनि गाउँछु ।
ल्यापटपमा काम गर्दा गीतहरु सुन्छु । सो समय पुराना खालका नेपाली र हिन्दी गीतहरु बढी मनपर्छ ।

मेरो प्रेम
विसं २०२४ मा मेरो विवाह भएको हो । जोसँग प्रेम थियो उसैसँग मागी विवाह पनि भयो । विवाह अगाडि म नरदेवीमा बसेर पढ्दै थिएँ । उनको घर कमलाक्षीमा थियो । 
उनीसँग कहिलेकाहीँ मात्र भेट हुन्थ्यो । त्यही क्रममा दुवैले एकअर्कालाई मनपराउन थालेका थियौँ । परिवारको सहमतिमा हामीले विवाह गर्यौँ । विवाहपछि त्यो प्रेम झन् झाँगियो । अहिलेसम्म पनि त्यो प्रेम चल्दैछ ।

मेरो पेसा
म पहिले नापी विभागमा काम गर्थें । त्यो समय नापनक्साको सेवा मेरो पेसा थियो । नापी अधिकृतबाट सेवा सुरु गरेको मैले विभिन्न तह हँुदै निर्देशक भएर २६ वर्षमा रिटायर भएँ । 
अहिले मेरो पेसा सीमा अध्ययन, अनुसन्धान र लेखन हो । अहिले धेरैले मलाई सीमाविद् समेत भन्ने गरेका छन् । तर म आफूलाई सीमाविद् होइन सीमा अध्येता भन्छु । सीमाविद् भनेको सीमासम्बन्धी पारङ्गत भएको व्यक्ति हो ।
म सीमा अध्ययन गर्दैछु । अझै कति अध्ययन गर्न बाँकी छ । अध्ययन अझै नपुगेको कारणले म आफूले आफैँलाई सीमा अध्येता भन्ने गर्दछु । अरूले दिएको सीमाविद् उपाधि मलाई मान्य छैन ।

मेरो सपना
देशको आर्थिक उन्नति होस् । नेपालमा पाँच हजारभन्दा कम कमाउने हाम्रा डोके, नाम्ले, खर्पने दाजुभाइ जो छन् नि । उनीहरुको आयस्ता १०, २० हुँदै बढ्दै जाहोस् भन्ने छ ।
नेपालमा धेरै कलकारखान खुलोस् । रोजीरोटीका लागि कोही विदेशिनु नपरोस् । देशमा अझै उन्नति होस् भन्ने मेरो सपना, चाहना हो ।
मेरो रोग 
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । एक वर्षदेखि प्रोस्टेटको समस्या देखिएको छ । डाक्टरको सल्लाह अनुसार दुई प्रकारको औषधि खाँदैछु । मेरो विचारमा यो रोग होइन । 

मेरो भुल
जीवनमा जानीनजानी धेरै भुल भयो होला । मानिस भएपछि भुल त हुन्छ नै । मैले पनि धेरै भुल गरेको छु । मेरो कति भुलका कारण मिल्ने साथीहरु चिढिएका छन् । 
एउटा गुरुङ थरका धेरै मिल्ने साथी थिए । एक कार्यक्रममा उनी पहिलो लाइनमा बसेका रहेछन् । म कार्यक्रममा ढिलो पुगेको कारण तेस्रो लाइन बस्न बाध्य भए । मैले पहिलो लाइनमा बसेका ती साथीलाई तिमी भीआईपी भएछौ भनेर जिस्क्याएँ । कार्यक्रम सकिएपछि त उनी मसँग रिसाएर आगो भए । त्यो समयदेखि उनी अहिले पनि बोल्दैनन् । मैले जोक गरेको भनेर माफी माग्दा पनि उनी बोल्नैछाडे । 
त्यो पनि मेरो भुल थियो । आर्टिकल लेख्दा पनि धेरै भुल हुन्छन् । भुल भएपछि माफी माग्न म हिच्चकिचाउँदिन ।
    
मेरो मापसे 
म मापसे थोरै गर्छु । नेवारको बच्चा भएकाले धेरै भोज खाइन्छ । भोज पचाउनका लागि मापसे गर्नैपर्छ । त्यसका लागि दुई पेकसम्म लिन्छु । कहिलेकाहीँ आफन्तले कर गरेर धेरै थपिदिए भने फलिदिन्छु । 
मापसेका लागि मेरो मनपर्ने ब्रान्ड सिबास रेगल हो । तर सबै भोजमा यो उपलब्ध हुँदैन । कहिलेकाहीँ लोकल पनि खान्छु । आफ्नो कोटा दुई पेकभन्दा बढी कहिलै खाँदिनँ ।
घरमा रक्सी सजाएर राखेको मन पर्दैन । मैले त घरमा किताब र पुरस्कार सजाएर राखेको छु । घरमा रक्सीको बोतल नभएका भने होइन । विदेश जाँदा ल्याएका केही रक्सीका बोतल छन् । आफन्त आउँदा काम लाग्ने गरेको छ । अहिलेसम्म मैले एक्लै मापसे गरेको छैन ।

मेरो राशि
मेरो राशि वृष हो । ग्रहदशामा विश्वास लाग्दैन । देखाउने, हेराउने गर्दिनँ । चिना, टिपन पनि छ मेरो । त्यो कहिलै हेराएको छैन । अहिलेसम्म पण्डितलाई हात देखाएको छैन । हात हेराउँदा केही न केही दोष देखाउँछन् नै । त्यसले झन्झट ब्यहोर्नुपर्छ भन्ने मेरो धारण रहेको छ ।

मेरो मृत्यु 
मृत्युको विषयमा मेरो अलग्गै सोच छ । मेरो र मेरी श्रीमतीको मृत्यु एकैचोटि हुन्छ । त्यसमा तलमाथि छैन । मृत्यु अन्तिम सत्य हो । म सधैैँ बाँच्छु भन्ने लाग्दैन । एक दिन त मर्नैपर्छ । 
त्यो मृत्यु कहिले हुन्छ भन्ने कल्पना पनि गर्दिनँ । अझै म धेरै बाँच्छु भन्ने लागेको छ । किनभने मेरो केही रोग छैन । खाना पनि प्रशस्तै रुच्छ । ब्यायाम पनि साँझ बिहान गरिरहेको छु । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.