केन्द्रीय संस्करण
नेकपाभित्र शक्ति संघर्ष

टिप्पणी : नेकपालाई विनाशको खाल्डोबाट कसले जोगाउने ?

person explore access_timeअसोज २७, २०७७ chat_bubble_outline1

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही नेताको बोली र व्यवहार फरक हुने गरेको छ । अर्थात्, बोल्ने एउटा कुरा, गर्ने अर्कै काम ! निर्णय एउटा, व्यवहार अर्कै । जनताले विश्वासका साथ मत दिएर राज्य सञ्चालनको जिम्मेवारी सुम्पेका नेपाली कम्युनिष्टहरुको ठूलो राजनीतिक संगठन नेकपामा देखिएको यस्तै प्रवृत्तिका कारण अहिले प्रश्न उठ्न थालेको छ– यो पनि कम्युनिस्ट पार्टी हो र ?

कतिपयले त खुलेरै यसलाई ‘कमाउनिस्ट’ भन्न थालेका छन् । कम्युनिस्टहरुको नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतको सरकार हुँदासमेत असंगठित क्षेत्रका श्रमिकहरु, किसान, गरिब तथा विपन्नहरु लगातार निरीह बन्दै गएको अवस्थामा यस्तो प्रश्न उठ्नु स्वाभाविक हो । जनतामा मात्र होइन, कार्यकर्तामा पनि निराशा देखिन थालेको छ । परिणामस्वरुप सतीदेवीको अंग पतन भएजस्तै यसका सांगठनिक संरचना कुहिएर झर्दै जाने अवस्थामा पुगेका छन् ।

नेपालको राजनीतिक इतिहासमै यति ठूलो कम्युनिस्ट पार्टी, यति खारिएका नेता, केन्द्रदेखि लिएर प्रदेश र स्थानीय तहमा आफ्नै पकड रहेको अवस्थामा समेत पार्टी किन निस्क्रिय भयो, सांगठनिक संरचना किन खिइँदै गएको छ र नेतृत्व तह यो अवस्थाका बाबजुद किन रमिता हेरेर बसेको छ भन्ने प्रश्न नउठेको होइन । यही अवस्था रहे आगामी निर्वाचनमा जनतामाझ कसरी भोट माग्न जाने भन्ने चिन्ताले एकथरी नेता–कार्यकर्तालाई पिरोल्न थालेको छ । पार्टीका काम कारवाही, सरकारका काम कारवाही प्रभावकारी भएनन् भनेर लगातार उनीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । तर पार्टी सुसेली हालेर बसेको छ, नेतृत्व तह मुस्कुराएर बसेको छ । मानौँ, अहिलेजस्तो आनन्दको अनुभुति कहिल्यै भएको थिएन र पछि पनि हुनेछैन । 

पार्टीको कमाण्डरले आफूलाई ठुलो दलको ठुलो नेता सम्झेर सधै ठुलै भइरहने सपना देखिरहेको छ । जो हर्ताकर्ता छन्, उनीहरु आफ्नै हात, गोडासहित शरीरका विभिन्न अंग चुँडिएर झर्ने अवस्था हुँदा पनि केही नै नभएकोजस्तो गरेर बसेका छन् । इलाज गर्नुपर्ने घाउ, चोटको उपचार गर्ने होइन कि बरु आफै निको भइदेला कि भनेर नुनचुक छर्केर घाउ बढाउनेतिर लागेको अनुभवसमेत हुन थालेको छ ।

बालुवाटार, खुमलटार, कोटेश्वर, भैँसेपाटी नेकपाका शक्तिकेन्द्र हुन् । इमानदार कार्यकर्ताले यी शक्तिकेन्द्रलाई ‘चारधाम’ का रुपमा हेर्छ तर अवसरको खोजीमा रहनेहरुले यिनलाई आपसमा जुधाएर, प्रतिश्पर्धा गराएर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । यी शक्तिकेन्द्रलाई पनि आफ्नै शक्ति आर्जनबाहेक अरु कुनै चासो र सरोरकार छैन । पार्टी संगठन कसरी चलेको छ ? पार्टी मातहतका सरकार कसरी चलेका छन् ? जनता कस्तो समस्यामा छन् ? भन्ने कुराको हेक्का भएर पनि सब ठिकठाक भएको भान परेजस्तो मुहार देख्दा लाग्छ– यिनलाई कुनै पीडाबोध छैन ।


कोरोना महामारीले यत्रो तहस नहस गरेको छ । गरिब, विपन्न तथा श्रमिक वर्ग नराम्ररी प्रभावित भएका छन् । देशको नेतृत्व गरेको, सातमध्ये ६ वटा प्रदेशको नेतृत्व गरेको कोरोना महामारी रोकथाम तथा नियन्त्रण, विपन्न वर्गलाई राहत, रोजगारी गुमाएकाहरुको व्यवस्थापन लगायतका विषयमा कहिल्यै आन्तरिक छलफल गरेन । छलफल भयो त केवल– सरकारलाई कसरी टिकाउने ? आन्तरिक शक्ति संघर्ष कसरी व्यवस्थापन गर्ने ? रिक्त

पदमा कसलाई नियुक्त वा मनोनयन गर्ने ? 
पार्टीको भविष्यको चिन्ता हुनेहरु शक्तिकेन्द्र पुगेर गुनासो गर्छन् । चिन्ताको पोको फुकाउँछन् । ‘यो भएन, त्यो भएन, यसरी हुँदैन’ भन्छन् । तर आज, भोलि गर्दागर्दै अढाइ वर्ष बितिसक्यो । न पार्टी संगठन सुदृढ हुन सकेको छ, न पूर्व एमाले र पूर्व माओवादीका रुपमा हुने गरेको कित्ताकाट मेटिएको छ । त्यत्रो विश्वासका साथ मत दिएका मतदाताहरुसमेत यतिबेला पश्चातापको अवस्थामा छन् । एउटा पार्टीका लागि योभन्दा दुरावस्था अरु के हुन सक्छ ?
नेकपाका युवा नेता एवं केन्द्रीय सदस्य ठाकुर गैरे नेताभन्दा पार्टी ठुलो र पार्टीभन्दा देश ठुलो तथा महत्वपूर्ण हुने बताउँछन् । ‘देश र जनताको भविष्यको चिन्ता र भविष्यको सुनिश्चितताका लागि योगदान त्याग, समर्पण बलिदानका कुरा गरेर आएका हौँ हामी,’ उनले भने, ‘तर आज त्यो त्याग, बलिदान भन्ने कुरा पार्टी सत्ता कब्जा गर्ने, राज्यसत्ता कब्जा गर्ने, आजीवन पद नछोड्ने प्रयोजनमा सीमित भइरहेको छ ।’ अरु कसैलाई अगाडि बढ्न प्रोत्साहन गर्ने, योग्य मानिस, असल मान्छे बनोस भनेर नेतृत्वदायी भूमिका निभाउने मानिस देशले पाउन नसकेको उनले बताए ।

नेकपाको उत्तराधिकारी को ? 
अहिले पार्टीको नेतृत्व प्रत्यक्ष रुपमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । उनीहरुकै समकक्षी नेता हुन् माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम । उनीहरुले पनि पार्टी र सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । समय र उमेरका हिसावले हेर्दा यी नेताहरुले अबको एक वा दुई कार्यकालभन्दा बढी पार्टी वा सरकारको नेतृत्व गर्न सक्ने अवस्था छैन । यिनै नेताले सरकार र पार्टीमा अर्को कार्यकालका आपसमा प्रतिश्पर्धा गर्नेछन् र नेतृत्वमा पुग्न नसक्नेले सोही अवस्थामा जीवन बिताउनुपर्ने बाध्यता छ ।

हाल नेतृत्वमा रहेका र यसअघि नेतृत्वमा पुगेकाहरुले पार्टीको भविष्यभन्दा पनि आफ्नो शक्ति र सत्ताको भविष्यलाई मात्र प्राथमिकता दिने गरेको कार्यकर्ताको गुनासो छ । पार्टीको भविष्य के हुने हो, एक दशकपछि पार्टीलाई कुन अवस्थामा पु¥याउने र त्यो बेला पार्टीका प्राथमिकता, विचार र नेतृत्व कस्तो हुनुपर्ने हो भन्नेबारे चिन्तन, योजना कसैमा छैन । नेतृत्व हाँक्ने पुस्ता तयार गर्ने जिम्मेवारी समयलाई नै छाडिएको छ ।

नेकपाका युवा नेता राजेन्द्रकुमार राई नेतृत्वले वैकल्पिक नेतृत्व तयार गर्नुपर्ने ठाउँ दिनुपर्ने आवश्यकता औंल्याउँछन् । ‘तर त्यसो भएको छैन, आफूले मात्रै ठाउँ ओगट्ने मनोभाव छ,’ उनले भने, ‘दोस्रो कुरा, कम्युनिस्ट पार्टी गैरकम्युनिस्ट पार्टीभन्दा पनि उन्नत किसिमको लोकतान्त्रिक हुन्छ भन्ने, तर अलिकति फरक विचार राख्यो भने त्यसलाई लामो समयसम्म आग्रह राखेर पछि पार्ने, चेप्ट्याउने गरेकाले धेरै राम्रा कार्यकर्ता र पछिल्लो पुस्ताका नेताहरुको जिन्दगी नै बर्वाद भएको छ । कयौँले पार्टी नै छोडेर हिँडेका छन् ।’

प्रष्ट त यो छ कि, अहिले नेतृत्वमा रहेकाहरु कसैले पनि आफ्नो वंश वा परिवारका लागि पार्टीको भविष्य सुनिश्चित गरिदिनुपर्ने बाध्यता छैन । पार्टीमा प्रभावशाली युवा नेता रहुन् वा पार्टीको भविष्यमा चम्किने उज्यालो तारा अहिले पार्टीभित्र अटोस् वा नअटोस् भन्नेसँग उनीहरुलाई कुनै मतलवसमेत देखिँदैन । वर्तमानमा आफ्नो हातमा शक्ति कायम रहे उनीहरुका लागि त्यो नै राजनीतिक सफलता हुने गरेको छ । यसका लागि उनीहरुलाई पार्टीको आगामी दशकको भविष्यबारे चिन्ता नहुनु स्वाभाविक पनि हो । उनीहरुमा आफू छउन्जेल सबै छ भन्ने मानसिकता हावी भएको देखिन्छ । आगामी दशक पार्टीको पोजिसन ५ नम्बरमै पुगे पनि अहिलेको नेतृत्वलाई तात्विक फरक पर्दैन । फरक जसलाई पर्ने हो, उसले आज पार्टी र सरकारको कमजोर भूमिकाका कारण जनतामा बढेको निराशाप्रति चिन्ता त गरिरहेको छ तर उसको चिन्तालाई पार्टी नेतृत्वले नै सुनुवाई गरिरहेको छैन ।


केन्द्रीय सदस्य गैरे पार्टी र देशको नेतृत्वको दिनचर्या, जीवनशैली, नेताहरुको कार्यशैली आफ्नै पार्टीका युवा नेता–कार्यकर्ताका लागि अनुशरणयोग्य हुनुपर्ने बताउँछन् । ‘नेतृत्वको कार्यशैली लोभलाग्दो हुनुपर्ने हो,’ उनले भने, ‘पार्टी र राज्य सञ्चालन गर्ने, आफ्ना नेता कार्यकर्ताहरुसँगको वर्ग व्यवहार सिकौँ–सिकौँ लाग्दो हुनुपर्ने हो तर टर्रो, झर्रो र नमिठोलाग्दो भइरहेको छ ।’

एउटा बाउ वा आमाले आफ्नो छोरो २० बर्षपछि यस्तो होस् भनेर सोचेको हुन्छ । सोही अनुसारको संस्कार र शिक्षादीक्षा दिएको हुन्छ । म नभए पनि यसलाई सजिलो होस् र समाजलाई उसले बुझ्न सकोस् भनेर अभिभावकले सम्पत्ति आर्जन गरिदिन्छ, सामाजिक शिक्षा दिन्छ । तर हालको नेकपाका नेतृत्व तहमा यतिसम्म बुद्धि र विवेक पनि देखिएको छैन । बरु कसका लागि पार्टी सँगालेर राखिदिने ? आफु बसुन्जेल लुछाचुँडी गर्ने हो, भागमा पार्ने हो र लिने हो भन्ने बाहेक पार्टीको भविष्यबारे दुरदृष्टि पटक्कै देखिँदैन ।

हो, शीर्ष नेतामा त्यस्तो सोच र भावना नभए पनि भोलि म नेतृत्वमा पुग्छु र केही गर्छु भन्नेहरु थोरैलाई पार्टीको भविष्यको चिन्ता छ । तिनीहरुलाई चिन्ता छ यो कार्यशैली र व्यवहारले अबको चुनाव जितिँदैन कि ? पार्टीलाई जनताले विश्वास गर्दैनन् कि भन्ने डर छ । अहिलेको सरकार र पार्टीको गतिविधिले कम्युनिस्ट पार्टी नै यो देशबाट पतन पो हुन्छ या यति अनुत्तरदायी भएर भोलि गाउँ जाँदा राजनीति नै गर्न नसक्ने अवस्था पो आउँछ कि भन्ने थोरै भए पनि चिन्ता छ । तर यस्तो सोच्नेहरुको आवाज अहिलेको नेतृत्वले वास्तै गर्दैन ।

युवा नेता राई नेकपामा मात्रै होइन, नेपालका अन्य पार्टीहरुको अहिलेको पुस्ताबाट वा पछिल्लो पुस्ताबाट प्रेरणा लिन मिल्ने अपवादबाहेक अधिकांशको व्यवहार र कार्यशैली नदेखिने बताउँछन् । ‘हामीले सिक्ने भनेको उहाँहरुले जे–जे गर्नुभएको छ त्यो ठिक होइन रहेछ, त्यसलाई अनुशरण गर्नु हुँदैन भनेर सिक्नुपर्ने अवस्था छ,’ उनले भने, ‘उहाँहरुले गरेको कुरा ठिक नभएका कारण हामीले त्योभन्दा फरक गर्नुपर्ने अवस्था छ ।’  


स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रमा समेत झण्डै दुई तिहाइ बहुमत पाएको पार्टी नेतृत्वका गतिविधि यस्तै हुन्छ ? तीन तहको सरकारमा एउटै पार्टीको बाहुल्यता रहेको यो बेला के गर्न सकिँदैन होला र ? अहिले ५ वर्ष राम्रो काम गर्न सके अरु कम्तीमा २० बर्ष कम्युनिस्टलाई कुनै समस्या थिएन । तर दायित्व सम्झने र विवेक पुर्याउनुपर्नेहरुले त्यसतर्फ पटक्कै ध्यान नदिएका कारण अबको चुनावमै के हुने हो भन्ने टुंगो छैन । त्यो सोचेको भए अहिलेको नेतृत्वले पार्टी एकता ६ महिनामै सकिसकेका हुने थियो । स्थानीय तह र प्रदेशलाई अधिकार दिएर संघीयताको प्रतिफल सबैलाई अनुभूति गराउन सक्थ्यो ।

यो नेतृत्वाट निरुत्साहित भएकाहरु ‘यसैगरी चल्नुपर्ने रहेछ’ अथवा ‘संघर्ष गरेर पार लाग्ने रहेनछ’ भन्ने निष्कर्षमा पुगिसकेको राई बताउँछन् । ‘बरु पुरानासँग लाग्ने, मिल्ने र केही प्राप्ति गर्ने भन्नेमा गइसक्यो पछिल्लो पुस्ता पनि,’ उनले भने, ‘नयाँ पुस्ताले संगठित भएर बैचारिक र सांगठनिक क्षेत्रमा पनि हस्तक्षेप गर्नुपर्ने हो तर हार मानिसकेको अवस्था छ ।’

चुनावको माध्यमवाट नेतृत्व छनोट हुने भएकाले महाधिवेसनमा पछिल्लो पुस्ता एकजुट हुने हो भने एकैचोटी पुराना पुस्तालाई हटाउन नसके पनि आधाआधीलाई विश्राम दिने अवस्था ल्याउन सकिने उनको भनाइ छ । ‘त्यसैगरी अर्को पटकमा अर्को आधालाई फिर्ता गर्न सकिन्छ,’ उनले भने, ‘तर त्यसो गर्न नयाँ पुस्तामा पनि उत्साह मर्दैै गएको छ । लोभको राजनीति सुरु भैसकेकाले पुरानासँगै मिल्ने, उनीहरुका कुरा मान्ने सांसद, मन्त्री पड्काउने भन्नेतिर लागेका छन् ।’
कोरोनाको यत्रो महामारीमा जनताले तीन तहका सरकारबाट अभिभावकत्व ग्रहण गर्न पाएका हुन्थे होला । तर अहिले कमाउन कर्मथलो पुगेको छोरा दसैँ मान्न घर आउन पाउँछ कि पाउँदैन भन्ने चिन्ता आमाबुवालाई छ भने दसैँमा आमाबुवाको हातबाट टिकासहित आशिर्वाद लिन पाइन्छ कि पाइँदैन भन्ने चिन्ता छोरालाई छ ।


अढाइ दशक अघि तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्ता र सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो, जसबाट नेपाली जनतामा कम्युनिस्टप्रतिको बुझाइ नै परिवर्तन गराएको थियो । त्यतिमात्र होइन, आज पनि पूर्वएमाले नेताहरु मनमोहन अधिकारी नेतृत्वको त्यही सरकारले नौ महिनाको अवधिमा गरेका काम सम्झिएर आफ्नो राजनीतिक धरातल फराकिलो भएको महसुस गर्दछन् । मनमोहन अधिकारीले त्यति नगरेको भए अहिले कम्युनिस्ट भनेका यस्ता हुन्छन् भनेर कसैले भन्न सक्थे ? जबकि त्यसअघिसम्म नेपाली समाजमा कम्युनिस्ट भनेका बुढाबुढीलाई मार्छ, खाल्डो खनेर पुर्छ भन्ने बुझाइ थियो । तर मनमोहन अधिकारीले ती तमाम बुझाइलाई मिथ्या साबितमात्र गरेनन्, आजसम्म पनि मानिसले सम्झना गर्नेगरी नौ महिनाको अवधिमै देशमा ‘सरकार भनेको त यस्तो हुनुपर्छ’ भन्ने उदाहरण पेश गरे । जबकि उनले अल्पमतको सरकारलाई नेतृत्व गरेका थिए । आज झण्डै दुई तिहाई बहुमतको सरकार हुँदा पनि बहानाबाजी, खिसीटिउरी गरेरै दिन, सप्ताह, महिना गर्दागर्दै अढाई वर्ष बितिसकेको छ । यो कार्यशैलीले नयाँ पुस्तालाई राजनीतिप्रति कसरी आकर्षित गर्न सकिन्छ ? कम्युनिस्ट पार्टीको जनमत कसरी बढाउन सकिन्छ ? नेतृत्व तहलाई चिन्ता नभए पनि यही पार्टीलाई आफ्नो भविष्य बनाएका नेता–कार्यकर्तालाई पनि यस्ता प्रश्नले पोल्ने गरेको छ ।

युवा नेता राईले टंक कार्कीको राजनीतिक जीवनलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै भने, ‘उहाँ २०३६ सालको आन्दोलनमा आगोको फिलुंगोजस्तो हुनुहुन्थ्यो, तर उहाँलाई विभिन्न सन्दर्भमा राय बाझिदा लामो समयसम्म पार्टीमा जिम्मेवारीसमेत दिइएन । त्यसपछि उहाँ विस्तारै निस्किृय बन्नुभयो । दिमाग पनि भुत्ते हुुँदै गयो । अहिले आउदा टंक कार्की केही होइन भन्ने भयो । जबकि नेतृत्वले उचित जिम्मेवारी दिँदै र तिखार्दै लगेको भए आज त्यो अवस्था आउँदैनथियो ।’ त्यसकारण नेतृत्वले पछिल्लो पुस्तालाई सहज वातावरण बनाउने, सही कुरा सिकाउने र हुर्काउने कुरामा बाधकको भुमिका खेलेको प्रष्ट हुने उनको बुझाइ छ ।

नेकपामा लामो समय केन्द्रमा शक्तिसंघर्ष चल्यो । बल्लतल्ल केन्द्रमा शक्तिसंघर्ष साम्य भएको भनिएको अवस्थामा प्रदेशमा विवाद सुरु भएको छ । आफ्नो सत्तालाई बचाउन वा अर्काको सत्तालाई कमजोर पारेर आफू सत्तामा पुग्न हुने गरेका यस्ता आन्तरिक शक्ति संघर्षले नेकपालाई विनासको खाल्डो पु-याउने कार्यकर्ताहरु बताउँछन् । यसबाट कसले बचाउला भन्ने नै अहिलेको अहम् प्रश्न हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Oct. 13, 2020, 5:40 p.m. Tapan Singh
    अर्को चुनाव सम्म काङ्रेस भन्दा नि खत्तम हुन्छ ....
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.