केन्द्रीय संस्करण

गान्धी, केसी र मासाली

person explore access_timeअसोज २९, २०७७ chat_bubble_outline0

सन् १९४० को दशकमा बेलायतका युद्धकालीन प्रधानमन्त्री विन्सटन चर्चिलले दक्षिण अफ्रिकाका फिल्ड मार्सल क्रिस्टियन स्मट्सलाई लन्डनस्थित युद्ध मन्त्रिपरिषद्को एक बैठकमा भनेछन्–“भारतमा हामीले भोगेका सबै दुःखको जिम्मेवार तिमी नै हौ । तिमी वर्षौंसम्म गान्धीसँगै बस्यौ तर पनि उसलाई सदाका लागि पन्छाउन सकेनौँ ।” जबाफमा स्मट्सले भनेछन् “गान्धीलाई मैले तीन तीन पटक झ्यालखानामा हालेँ तर त्यहाँबाट निक्लँदा उनले मलाई आफ्नै हातले बनाएका शयनकक्षमा लगाउने एक जोडी चप्पल पो ल्याइदिए ।”

दोस्रो विश्वयुद्धका दौरान गान्धी भोक हड्तालमा थिए । यसै सन्दर्भलाई लिएर, उनै चर्चिलले मन्त्रिपरिषद्को बैठकमा भनेका रहेछन् “भोक हड्तालमा बस्छु भनेर घुर्की लगाएकै भरमा गान्धीलाई जेलमुक्त गर्नु हुँदैन । ऊ मरो नै भने पनि हामी एउटा खराब मान्छे र बेलायती साम्राज्यको दुस्मनबाट कमसेकम मुक्त त हुनेछौँ ।” क्याबिनेट बैठकमा भएका सबै नोटहरूलाई त्यसबेलाको कानुनअनुसार नष्ट गर्नुपर्ने थियो तर कसो कसो टिप्पणी लेखक लरेन्स बर्गिसले भावी पुस्ताका लागि यो संवाद जोगाएर राखेका रहेछन् र छ दशकपछि सबै कुरा बाहिर आउन सक्यो । 

गान्धीको जीवनको सर्वाधिक महत्त्वपूर्ण पक्ष भनेको उनले सुरु गरेको सत्याग्रह नै हो । जसलाई शाब्दिक रूपान्तरण गर्दा डरमुक्त आत्मबल (सोलफोर्स) वा ब्रह्मसत्य (सोलट्रुथ) भन्न सकिएला । यसले प्रेम, आपसी समादार र सद्भावप्रतिको अखण्डित, अविचलित एवं अटुट निष्ठाको माग गर्दछ । यसले आवश्यक परे पीडा भोग्न तयार हुनुपर्ने उत्सर्गको अपेक्षा गर्दछ । सत्याग्रहलाई प्रायः ‘निष्क्रिय प्रतिरोध’ भनी त्यसको अर्थ बुझ्ने, बुझाउने पनि गरिन्छ । तर यो पूर्ण सत्य भने होइन । यसको गूढ अर्थ योभन्दा कता हो कता खँदिलो र कसिलो छ । यसो भन्नु त ‘प्रकाशलाई’ ‘उज्यालो नभएको अवस्था’ र ‘असल’लाई ‘खराबको अनुपस्थिति’ भनेसरह मात्र हो । यस्तो परिभाषाले सत्याग्रहको सकारात्मक र सिर्जनात्मक अंश वा अवयवलाई नकार्दछ । सत्याग्रह अरूलाई हानि, चोट पुर्याउनेभन्दा आफूले नै आत्मसंयम अपनाउने हदसम्म मात्र निष्क्रिय हुन्छ । अरू सबै पक्षमा यो सक्रिय र निश्चयात्मक हुन्छ । साध्यले साधनको औचित्यता सम्पुष्टि गर्छ भन्ने कुरा गान्धीलाई स्वीकार्य थिएन । उनी भन्ने गर्थे– लड्न भिड्नभन्दा कता हो कता साहस र धैर्यको आवश्यकता पर्दछ सत्याग्रहमा । यसमा बन्दुकको ट्रिगर दबाउनभन्दा कता हो कता धेरै आत्मबलको आवश्यकता हुन्छ । गान्धी भन्थे, “अत्याचारीको तरबारको धारलाई भुत्ते बनाउनु मेरो मूल लक्ष्य हो । तर यो काम उसका अगाडि धारिलो हतियार तेस्र्याएर नभई म ऊसँग भौतिकरूपले भिड्नेछु भन्ने उसको अपेक्षामाथि पानी खन्याएर हुनेछ ।” उनी भोका नाङ्गा मानिसका कायामा आफ्नो आकृति देख्थे । 


जबजब गोविन्द केसी सुदूर गाउँबेँसीका बस्तीहरूमा भुटेका मकैका भरमा आफूलाई पाउँछन्, तबतब त्यहाँको स्वास्थ्य स्थिति देखेर यिनी उद्दीग्न र विचलित हुन्छन् । अनि उनीसँग एउटै मात्र विकल्प रहन्छ, अनशन । आखिर यिनले अरू गर्नै पो के सक्छन् र ? यिनीसँग न बन्दुक छ न बम । 


टाइम म्यागजिनले बीसौँ शताब्दीको आखिरी सातामा शताब्दी पुरुषको चयन गर्याे । चयनसम्बन्धी छलफलको क्रममा गान्धीले पनि प्रविष्टि पाए । तर अन्ततः शताब्दी पुरुषमा अल्बर्ट आइन्सटाइन छानिए । गान्धी राजनीतिक व्यक्तित्व हुन् र उनी चाहिने नचाहिने सङ्घर्षमा होमिएर विवादास्पद भए भन्दै छनोट समितिले उनलाई पन्छाइदियो । विद्वान् समाजवादी चिन्तक प्रदीप गिरि लेख्छन्– तर आइन्सटाइनको निजी कक्षमा भने एउटै तस्बिर थियो, गान्धीको । आफूभन्दा १० वर्षअघि जन्मिएका गान्धीप्रतिको आइन्सटाइनको कति अगाध श्रद्धा थियो भने उनी भन्थे– भावी पुस्तालाई रगत र मासु भएको यस्तो मानिस कुनै बेला पृथ्वीमा हिँड्यो भनेर विश्वास गर्न पनि गाह्रो हुनेछ । गान्धी भन्थे– ऋषिमुनिहरू जङ्गलका बीचमा बसेर मोक्षको साधना गर्छन्, म यस्तो साधना जनताका बीचमा बसेर गर्छु । आफ्नो जीवन नै सन्देश रहेको कुरा बताउने गर्दथे उनी । यस्ता अजीवका प्राणी थिए गान्धीजी । अन्ततः भीमकाय ब्रिटिस राज ढाल्न उनी सफल भए । लाग्छ उनी अरू कुनै बेग्लै तत्त्वबाट निर्मित थिए ।

अब नेपालको प्रसङ्गबारे एकिछन घोत्लिऔँ । जुम्लाको बाहिरमस्टा मन्दिरबाट यही भदौ २९ गतेदेखि आमरण अनशन बस्दै आएका अर्का सत्याग्रही डा. गोविन्द केसीले असोज २४ गते मध्यरातमा आठबुँदे सहमति गर्दै २८औँ दिनमा सो अनशन तोडेका छन् । जुम्लाबाट सुरु भएको उनको अनशन काठमाडौँमा आएर टुङ्गिएको छ । रुग्ण, जीर्ण, कृषकायलाई लौरोको सहाराले डोर्याउँदै एकसरो लुगाका भरमा उकाली—ओराली र द्यौराली गर्दै सुदूर गाउँ र बस्तीहरूमा ओखतीमूलोको पोकोपुन्तुरो बोकेर जनताको घरदैलोमा पुग्ने यी सन्त डाक्टरको सौर्य औधी विस्मयकारी छ । गरिब, दीनदुःखी, असहाय, निमुखाहरूका लागि यी आस्थाका पुञ्ज बनेका छन् । यिनले घामपानी हुरी–बतास, हिउँद–वर्षा आदिको किञ्चित पर्वाह नगरी जनसेवामा आफूलाई समर्पित गरे । सत्ताधारी र माफियाहरूको आँखामा त यी मूढता र अव्यावहारिकता चोटी होलान् तर बहुसङ्ख्यक दीनदुःखीका लागि यिनी चेतनाको दियो र लोकतन्त्रको धुकधुकी हुन् । लाग्छ, यिनको तन र मनमा जनताको स्वास्थ्यबाहेक अर्काे कुनै कुराले घर गरेकै छैन । आफ्नी वृद्धा आमाले पनि देशका लागि छोरालाई सपर्मण गरिसकेको बताउने यी यस्ता सपूत हुन् जो निरङ्कुशतासँग सतिसालझैँ खडा भएर सामना गर्ने हिम्मत गर्छन् । स्वास्थ्य क्षेत्रको कालो बादलमा यिनी चाँदीका घेरा हुन् । बुद्धले भनेझैँ यिनी एक जाग्रत मनुष्य हुन् ।

मुलुकमा भ्रष्टाचार र निरङ्कुशता विकेन्द्रित भएको अवस्थामा यिनलाई अस्पताल प्रवेश गर्नबाट रोक लगाइन्छ । सुदूर गाउँका स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्यकर्मीलाई सिकाउने यिनको तत्परतामा अवरोध खडा गरिन्छ । २०६९ सालमा बसेको पहिलो अनशनयता यिनले २५० दिनभन्दा बढी अनशनमै काटिसकेका छन् । तैपनि आफ्नो जीर्ण काया लिएर यिनी सेना, प्रहरी र प्रशासनको लगाम लिएर बसेको मदमत्त सरकारसँग पौँठेजोरी खेल्नबाट पछि हट्दैनन् ।

जबजब यिनी सुदूर गाउँबेँसीका बस्तीहरूमा भुटेका मकैका भरमा आफूलाई पाउँछन्, तबतब त्यहाँको स्वास्थ्य स्थिति देखेर यिनी उद्दीग्न र विचलित हुन्छन् । अनि उनीसँग एउटै मात्र विकल्प रहन्छ, अनशन । आखिर यिनले अरू गर्नै पो के सक्छन् र ? यिनीसँग न बन्दुक छ न बम । चेतनाशून्य र संवेदनाहीन शक्ति र सत्ताको मात लागेका मानिसका भीडमा कतै दूर क्षितिजमा देखिएका प्रकाश हुन् यिनी । पार्टीका गुटगत स्वार्थका लागि मन्त्रालय फुटाएर वर्षको अर्बौँ रुपैयाँ स्वाहा गर्न तयार हुने ‘कम्युनिस्ट’ सरकार प्रत्यक्ष रूपमा आम जनताको जीवनलाई छुने माग पूरा गर्न आनाकानी गर्छ । त्यसैले त हुटहुटीको आगोमा होमिएर आफ्नै ज्यानलाई भोको र प्यासी बनाएर मेडिकल क्षेत्रका विकृति हटाउन कम्मर कसेर लागेका छन् यी सन्त । सहमति भएका मागहरूले कार्यान्वनको उज्याले देख्न नपाउने, चिकित्सा क्षेत्रको बेथिति नरोकिने, आईओएमलाई स्वायत्तताको प्रत्याभूति नगरी हस्तक्षेप गर्ने कार्य झनझन बढ्दै गएकाले अनशनबाहेक आफूसँग अरू कुनै विकल्प नभएको कुरा बारबार बताउने गर्छन डा केसी । यिनले नेपालका ७७ वटै जिल्लामा पुगेर निःशुल्क सेवा उपलब्ध गराउनुका साथै बाढीपहिरो आदि प्राकृतिक प्रकोपको विनास भोगेका १५ वटा देशमा सेवा पुर्याएका छन् । कसैको एक पैसा चन्दा यिनी लिँदैनन् । यी सत्याग्रहीले देशका कुना काप्चामा यस्ता पीडा र छटपटी देखेका र अनुभव गरेका छन् जुन जोसुकैले भोगेको वा अनुभव गरेको हुँदैन । त्यसैले त यी जागृत मनुष्य अनुद्दीग्न र संवेदनाहीन भएर बस्न सक्दैनन् । अनि सत्ताको उन्मादले सुतेको विवेकलाई झकझक्याउन अनशन बस्दछन् ।

राष्ट्रिय शिक्षा ऐनको तर्जुमा भई चिकित्सा शिक्षा आयोग गठन हुनु, मेडिकल शिक्षामा छात्रवृत्तिको कोटा बढ्नु, एमबीबीएस र एमडीको शुल्क निर्धारण हुनु, विदेशमा चिकित्सा शिक्षा पढ्न जानेको पनि योग्यता निर्धाण हुनु, धन नभएका तर क्षमता भएका विद्यार्थीले पनि चिकित्सा शिक्षा पढ्न पाउने अवसर प्राप्त हुनु यिनै चेतनशील डाक्टरको अनशनका देन हुन् । उन्नाइसौँ अनशनमा यिनले राखेका माग मूलतः अघिल्ला सत्याग्रहमा नै पूरा गर्ने वाचा गरिएका मध्येका हुन् । कर्णाली तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजमा पूर्वाधार तथा जनशक्ति पुर्याएर तत्काल चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गरिनुपर्ने डा. केसीले उठाएका माग थिए । दुर्गम क्षेत्रमा सरकारी मेडिकल कलेज स्थापना गरी सहुलियतमा आम सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उनको सपनाको मूर्तीकरण हुनमा भएको ढिलाइमा सत्ताधारी र निजी मेडिकल कलेज सञ्चालकहरूको स्वार्थ लुकेको हुनसक्ने कुराले उनी विचलित थिए । 

यिनको अर्काे माग थियो २०७५ साउन १० गतेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनको संशोधन । एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रावधान ऐनमा त राखियो तर काठमाडौँ उपत्यकाबाहिरका हकमा यसअघि नै पूर्वाधार पूरा भएका मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने प्रावधान पनि घुसाइयो । डा. केसीलाई यहीँनेर चलखेल भएको आशङ्का थियो । सम्बन्धन दिनै परे पनि अन्य विश्वविद्यालयमा चिकित्सा शिक्षाको अध्यापन गरेर दिन सकिने उनको जोड रहेको छ । अर्काेतर्फ राजनीतिक आबद्धताको आधारमा उपकुलपति नियुक्तिमा भागबण्डा हुन थालिसकेको छ । २०६९ सालको पहिलो अनशनमा नै डीन लगायतका पदाधिकारीहरूको वरिष्ठताका आधारमा नियुक्ति हुने सहमति लागू भइसकेको कुरालाई ३३औँ वरीयतामा रहेकी डा. दिव्यासिंह शाहलाई डीन र उनकै सिफारिसमा उनीभन्दा पनि पछिका नेकपानिकट डा. दिनेश काफ्लेलाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरियो । यसरी करिब १० वर्षअघि सम्झौता भई लागू पनि भइसकेको अवस्थालाई पुनः तोड्ने काम भयो । डा. दिव्यासिंह शाहको महत्त्वाकाङ्क्षाले पहिले भएको सहमतिलाई धोती लगाएर छलाङ मा¥यो । उनी आफूभन्दा अगाडिका वरिष्ठलाई पछि पार्दै डीनको कुर्सीमा बुर्कुसी मार्न पुगिन्, जबकि पहिलेका अनशनमा उनले डा. केसीको सहयोगीका रूपमा काम गरेकी थिइन् । उनले केसीका निम्ति जुडासको भूमिका निर्वाह गरिन् । पहिले कहिल्यै पनि नाम नसुनिएकी शाहको सम्बन्धका आयामहरू बुझी नसक्नु छ ।

सरकारद्वारा गठित वार्ता टोली र डा. गोविन्द केसी वार्ता टोलीबची असोज २५ गते मध्यरातमा भएको आठबुँदे सहमतिबमोमि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार जनशक्तिको व्यवस्थापन गरी आगामी शैक्षिक सत्रदेखि चिकित्सा शैक्षिक कार्यक्रम सञ्चालन गरिने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनबाट पास गरेर सुदूरपश्चिम प्रदेशको गेटामा सरकारी मेडिकल कलेज स्थापना गरी २०८० सालभित्रमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिने, पीसीआरको परीक्षण विस्तार गरिने, बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गरिने, पदाधिकारी मापदण्ड निर्धारण समिति तथा कार्यदलले दिएको सुझावअनुसार विश्वविद्यालय र प्रतिष्ठानहरू पदाधिकारी नियुक्ति गर्न त्यसलाई प्रस्तावित उच्च शिक्षासम्बन्धी विधेयक तथा एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा तयार गर्ने तथा कानुनी व्यवस्था नहुन्जेल वरिष्ठता र कार्यक्षमतालाई आधार मानेर पदाधिकारी नियुक्त गर्ने लगायतका सहमति भएका छन् । त्यसैगरी २०७५ साउन १० मा भएको सम्झौताअनुसार छुट भएका विषयलाई चिकित्सा शिक्षा आयोगद्वारा गठन गरी सकिएको कार्यदलको क्षेत्राधिकारअन्तर्गत राख्ने र राष्ट्रिय चिकित्सा शिक्षा चिकित्सा ऐनमा संशोधन गर्ने सहमति भएको देखिन्छ ।

यी आठबुँदे सहमतिको अध्ययन गर्दा कस्तो लाग्छ भने डा. केसीका लगभग सबै माग पूरा भइसकेका छन् वा हुने क्रममा छन् । सहमतिमा भएका कतिपय कुरा गोलमटोल पाराले फकाइफुल्याई गराउने खालका पनि छन् । लाग्छ, सरकारलाई दुःख दिने नियतबाहेक यिनको अरू केही काम छैन । तर फेरि किन यी सत्याग्रहीलाई बारबार अनशन बस्न बाध्य पारिन्छ ? किन आम गरिबदुःखी जनताप्रतिको यिनको निःस्वार्थ आस्था र निष्ठाप्रति कपटपूर्ण जालझेल गरिन्छ ? यस्तो कोरोना कहरको बीचमा अनशनमा बस्नु उनको रहर हो ? २०६९ सालमै भएको सम्झौतालाई किन उल्ट्याइन्छ ? किन काँग्र्रेसको लठुवा र नेकपाको कट्टर दुस्मन भनी उनको चीर हरण गर्ने काम हुन्छ ? के उनी शेरबहादुर देउवा र सुशील कोइराला प्रधानमन्त्री हुँदा अनशनमा बसेका थिएनन् ? बिडम्बना, कतिपय पुँजीवादी देशले शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रलाई आफ्नो दायित्वअन्तर्गत लिएको देखिएको छ । तर हाम्रो समाजवाद–उन्मुख देशमा भने यी क्षेत्रमा सत्तासँग निकट माफियाहरूको रजगज छ । 

अहिले फेरि अर्काे एकथान सहमति त भएको छ तर यो सहमति साँच्चै पूरा होला त ? सत्याग्रहीको मृत्यु कुरेर पर्खिरहेको सरकारले आम जनताको चारैतिरबाट आएको चर्काे दबाब थेग्न नसकेर आफू झुक्न बाध्य भएको सबैले बुझेका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारको बाटोमा यी काँडा बनेका छन् । विगतका १८ वटा अनशनका आलोकमा भन्न सकिन्छ यी मागहरू सजिलै पूरा हुने छैनन् । त्यसैले मलाई लाग्छ, नेपाल चिकित्सक सङ्घ र सोलिडारेटी फर डा. केसी अलायन्सले डा. केसीको २०औँ सत्याग्रहलाई सम्हाल्न कस्ता  रणनीति बनाउने भन्ने सम्बन्धमा अहिलेदेखि नै विचार गर्न थाले हुन्छ । हेर्दै जाउँ ‘ढाँटको निम्तो खाई पत्याउनु’ भन्छन् ।  


फेरि किन यी सत्याग्रहीलाई बारबार अनशन बस्न बाध्य पारिन्छ ? किन आम गरिबदुःखी जनताप्रतिको यिनको निःस्वार्थ आस्था र निष्ठाप्रति कपटपूर्ण जालझेल गरिन्छ ? यस्तो कोरोना कहरको बीचमा अनशनमा बस्नु उनको रहर हो ? 


लोकतान्त्रिक संस्कार र विधिको शासनको धज्जी उडाएर, कुशासन, भ्रष्टाचार, नातावाद–कृपावाद र दासतामा रमाउने ‘कम्युनिस्ट’ सरकारप्रति आम जनताको विश्वास यति खस्केको छ कि साँच्चै असल मनसायले कुनै काम गरेको छ भने पनि आम मानिसले सितिमिति विश्वास गरिहाल्ने अवस्था छैन । जुन देशमा सत्याग्राहीले अनशनकै क्रममा आफ्नो ज्यान गुमाउनुपर्ने हुन्छ । जुन देशमा सेरेमोनियल ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यू’को सन्देश भन्दै अनुसन्धान अधिकृतहरूलाई दबाब दिएर नाङ्गो हस्तक्षेप गरिन्छ, जुन देशमा राजदूतको पदमा लिलाम बढाबढ हुन्छ, जुन देशमा कमिसनखोर र लुटेराहरूको कार्यकारीको चोटाकोठामा पहुँच हुन्छ, जुन देशमा जेलको चिसो छिँडीमा बस्नु पर्ने विद्यार्थीको रगत चुसेर मोटाएका किर्नाहरू खुलेआम छाती ठोकेर हिँड्छन्, त्यस्तो देशमा केही होला भनेर कसरी आशा गर्न सकिएला र ? जुन देशमा राजदूत, उपकुलपति र न्यायाधीशहरूको दलगत स्वार्थका आधारमा भागबण्डा हुन्छ त्यस देशमा के आपेक्षा गर्ने ? जुन देशमा संसदीय निर्वाचनमा हारेका हरुवाहरू र अमुक पार्टीका क्याडरहरू ‘लिप–फ्रगिङ’ गरेर एकैचोटि ‘श्रीमान्’को पगरी गुथ्न (कतिपय त सर्वाेच्चको प्रधान न्यायाधीशको रोलक्रममा पर्नेगरी) पुग्छन्, त्यस देशमा केही होला भनेर आशा गर्नु कति जायज होला ? यो भोलापनबाहेक अरू के होला र !

‘न रहे बाँस, न बजे बाँसुरी’को शैलीमा हिँडेको ओली सरकार अन्ततः झुक्न बाध्य भयो । प्रधानमन्त्री केपी शर्मा ओलीजी तपाईं “एको अहं द्वितीयो नास्ति, न भूतो न भविष्यति” (म नै एक हुँ, अरू सबै मिथ्या हुन् । मजस्तो न पहिले कोही आयो, न कोही आउने नै छ) को सङ्कुचित कोक्रोबाट निस्कनुहोस् र सत्यसँग साक्षात्कार गर्ने हिम्मत गर्नुहोस् । अहङ्कारको डुङ्गामा यात्रा गर्दा तपाईंलाई त सबै ठिकठाक चलिरहेकै छ जस्तो लाग्ला तर याद राख्नुहोस् केही नभई केही हुँदैन । एउटा प्रसङ्ग– उहिले रोमन साम्राज्य पूर्ण यौवनमा हुँदाका बखत लडाइँमा विजयी जर्नेलहरू परेडमा निस्कँदा तिनका कानमा खुसुक्क भन्न एउटा मानिस खटाएको हुन्थ्यो रे । उसले भन्थ्यो रे– ‘मेमेन्टो मोरी’ (मान्छे मरणशील छ) र ‘होरा फ्युजिट’ (समय घर्किंदो छ) । यी ल्याटिन वाक्यांशहरूले मृत्युको अपरिहार्यता र जीवनको शास्वत सत्यलाई बोध गराउँछन् । आखिर तपाईंले जति अरू कसले पो मृत्युलाई त्यति नजिकबाट चियाउने अवसर पाएको होला र ? हामी सबै कालका ग्रासी हौँ भन्ने सोचेर काम गर्नुहोस् । ‘मोदिआइन’मा बीपी कोइरालाले महाभारतका वीरहरू जस्तो ठूलो र वीर नहुनु, असल हुनु भन्ने सन्देश दिएका छन् । महत्त्वाकाङ्क्षाले अहङ्कार र अहङ्कारले विध्वंश जन्माउँछ, उनको निष्कर्ष छ । डा. केसीले मरेर गुमाउने केही छैन । केवल एक जर्जर, अस्थिमय शरीर र एकसरो लुगा न हो । तर तपाईंले गुमाउने कुरा धेरै छ ।

प्रसङ्गबस् ‘गरिबका डाक्टर’ भनी विश्वभर कहलिएका ख्यातनामा डाक्टर मोहम्मद मासालीको कुरा कोट्याउन मन लाग्यो । उनको हालै निधन भयो । जीवनभर सादा जीवन बिताएर यिनले दीनदुःखीको निःशुल्कजस्तै सेवा गरे । उत्तरी इजिप्सेली सहर टान्टालाई यिनले आफ्नो निष्काम कर्मको थलो बनाए । यी निर्धनहरूका निम्ति साक्षात भगवान् थिए । किञ्चित झुकेको जीर्ण शरीर भएका यी डाक्टर गरिब, निमुखा र दीनहीनहरूका लागि करुणा, दया र प्रेमका प्रतिमूर्ति थिए । मानवता, विनयशीलता र कर्तव्यको सङ्गममा जन्मने यथार्थ हो– मासाली । 

मासालीमा अहङ्कार र घमण्डको लेस मात्र पनि थिएन । बाटामा पनि मानिसलाई स्वास्थ्यसम्बन्धी आफूले सकेको सल्लाह दिँदै हिँड्थे । सन् १९४४ मा एक शिक्षकका सन्तानका रूपमा जन्मिएका यी महात्माले इन्टरनल मेडिसिन, बालचिकित्सा र सरुवा रोग सम्बन्धमा विशेषज्ञता हासिल गरेका थिए । चौहत्तर वर्षको उमेरमा निधन हुनुअघिसम्म पनि उनी दिनको १२ घण्टासम्म काम गर्थे । उनलाई लाउन खानमा कहिल्यै सोख भएन । विपन्न परिवारमा जन्मेर हुर्केका यी डाक्टरले दुःख के हो भन्ने भोगेका थिए, बुझेका थिए । यिनकी श्रीमती भने धनी थिइन् र तीन छोराहरू इन्जिनियर छन् । उनको जीवनमा घटेको एक घटनाले उनको जीवनको मोड नै बदलिदियो । घटना यस्तो थियो– एक दिन एक १० वर्षीय बालक उनको क्लिनिकमा आए । उनी मधुमेहका रोगी थिए । बालकले आमालाई इन्सुलिनको सुई लगाइमाग्न भने । तर आमासँग पुग्दो पैसा नभएकाले उनले भनिन् “बाबू तिमीलाई सुई लगाउने हो भने भरे भाइबैनीलाई खान केही हुने छैन ।” त्यसपछि ती बालक दौडेर माथि छतमा गए र आफैलाई आगोले झोसे । डाक्टरकै हातमा ती बालकको प्राण पखेरु उड्यो । त्यसैदिनदेखि उनले आफ्नो सम्पूर्ण बाँकी जीवन दीनदुःखीको सेवामा समपर्ण गर्ने सङ्कल्प गरे, जसलाई उनले जीवनभर इमानदारिताका साथ पालना गरे । जीवनभर उनले एक पैसा चन्दा लिएनन् । मानिसहरू भन्छन्– सेवाभावमा समर्पित हुनेहरूका लागि मासाली कहिल्यै नसुक्ने निर्झरिणीझैँ प्रेरणाका अजस्र स्रोत हुन् । यिनी निबिड रातमा उदाएका एक चम्किला सितारा हुन् ।

अन्त्यमा पर्सियन साम्राज्यका बेलाको कुरा हो । पर्सिया केही समयसम्म विशाल साम्राज्यका रूपमा रह्यो । तर म्याराथुन र सलामिसको हारपछि साम्राज्यको पतनको क्रम सुरु भयो । त्यसबखतका मानिसका लागि यो अत्यन्त विस्मयकारी घटना थियो । इतिहासविद् हेरोडोटसले यो घटनाबारे गम्भीर विचार गरे अनि निष्कर्ष निकाल्दै भने ‘कुनै पनि राष्ट्रको इतिहासमा तीन चरणहरू हुन्छः सफलता, सफलताले ल्याउने अहङ्कार र अन्याय अनि यी सबैले ल्याउने पतन ।” हेरोडोटसले त राष्ट्रको जीवनका बारे कुरा गरेका थिए । कहीँ तपाईंको जीवनमा यस्तो नहोस् । चेतना भया !

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.