केन्द्रीय संस्करण
बजार

चम्किँदै सस्तो बजार, ब्रान्डेड सामान बेच्नेहरुको रुवाबासी

सस्तो बजारभित्र बर्षौंदेखिको गैरकानूनी धन्दा : कर प्रशासन, श्रम कानूनदेखि ट्रेडमार्कलाई चुनौती

person explore access_timeअसोज ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । साना–साना गल्ली, गल्लीभित्र सानो पसल । त्यही पसलमा पाइन्छन् सस्ता–सस्ता कपडाहरु । त्यसमाथि ग्राहकको समेत भिडभाड । लगनटोल, भोटेबहाललगायतका क्षेत्रका पसलको अवस्था हो यो । 
लामो लकडाउन, कोरोना कहरका कारण आएको आर्थिक मन्त्रीका साथै कतिपयको रोजगारी समेत गुमेका कारण खर्च गर्नसक्ने क्षमतामा ह्रास आएको छ । त्यसैले त यतिबेला न्यूरोड, दरबारमार्गका ब्राण्डेड र महँगा सामान पाइने बजारहरु सुस्ताएका छन् । अझ भन्दा विदेशी बजारबाट ब्रान्डेड सामान आयात गरेर बेच्नेहरुको हालत दयनीय बनेको छ ।

 सपिङ मलहरु नाममा मात्रै खुला छन्, व्यापार हेर्ने हो भने ठप्पप्रायः नै छ । दशैंमा कति आम्दानी हुन्छ भनेर सोच्नेहरु यतिबेला भाडा कसरी तिर्ने भन्ने चिन्तामा देखिन्छन् ।
न्यूरोड क्षेत्रमा कपडाको व्यापार गर्दै आएका जगत बोहोरा विगतका वर्षहरुमा व्यापार राम्रो हुनुका साथै फाइदा पनि राम्रो हुने गरेको स्मरण गर्छन् । तर, यो वर्ष व्यापार नभएको र भइहाले पनि निकै कम नाफा खाएर बेच्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनले भने, ‘पहिले व्यापार पनि धेरै हुन्थ्यो, मार्जिन पनि धेरै नै हुन्थ्यो । अहिले मार्जिन कम गरेर बेच्दा पनि व्यापार हुनै छोडेको छ । अब व्यापार भयो भने अर्कै कुरा, नत्र भाडा कसरी तिर्ने भन्ने तनाव अहिले पनि छ ।’

तर, भोटेबहाल र लगनलगायतका उपत्यकाका भित्री भागहरुमा रहेका बजारहरु भने यतिबेला चम्किरहेका छन् । लगन क्षेत्रमा पसल र गार्मेन्ट व्यवसायी सञ्जयकुमार साह लकडाउन हुँदा व्यापारमा असर परेको भए पनि लकडाउन खुला भएपछि व्यापार फेरि पहिलेको भन्दा पनि बढ्दै गएको बताउँछन् । ‘लकडाउनले व्यापार व्यवसाय चौपट भयो भनेर समाचारमा आउँछ, खै हाम्रो व्यवसाय त चौपट भएको छैन । बरु अघिल्लो वर्षभन्दा झनै व्यापार बढ्दै गएको छ ।’ 

अंग्रेजीमा एउटा शब्द छ, ‘फ्लि मार्केट’ । निकै सस्तो सामान पाउने बजारलाई बुझाउन यो शब्द प्रयोग गरिन्छ । यस्तै बजारको रुपमा अहिले यो बजार स्थापित हुँदै गएको छ । फुटपाथ बजारदेखि अनलाइन शपिङ गर्नेसम्मले यही बजारबाट सामान उठाएर बेच्ने गरेका छन् । यसले कोभिड–१९ का कारण आम्दानी गुमाएर कमजोर आय अवस्थामा पुगेका तथा सुरुदेखिनै कमजोर आर्थिक अवस्था भएकाहरुको आम्दानी सम्बोधन गरिरहेको छ । ब्रान्डेड सामानभन्दा ३ देखि ५ गुणासम्म सस्तोमा यस्ता सामान पाइने गरेको व्यापारीहरु सुनाउँछन् । 

तर, सस्तो उत्पादनभित्रको अन्तरकथा भने अर्कै छ । राज्य संयन्त्रको आँखामा नपरेरै पनि यो क्षेत्रले वर्षौंदेखि राज्यको कर, श्रम र ट्रेडमार्कसम्बन्धी नियम कानूनहरुलाई ठाडो चुनौती दिँदै आएको छ । 

कसरी बन्छन् सस्ता सामान ? 
भारतको बिहार, पश्चिम बंगाल तथा बंगलादेशमा बनेका निकै सस्ता गार्मेन्ट एकैपटक ठूलो मात्रामा नेपाल भित्रिन्छ । त्यसमध्ये धेरैजसो कपडाहरु सम्बन्धित देशले निर्धारण गरेको मापदण्ड पूरा नभएर बेच्न प्रतिबन्ध लगाइएको सामान हुने गरेका छन् । त्यहाँ मापदण्ड पूरा नभएका सामानहरु धेरैनै सस्तोमा पाइने भएकोले प्रायः यस्तै सामान बढी भित्रिने गरेको पाइएको नेपाल इम्ब्रोडरी, ह्यान्डिक्राफ्ट एण्ड सुईङ वर्कर्स युनियनका अध्यक्ष तेज रिजाल बताउँछन् ।  

विगतमा त्यस्ता कपडा भन्सार छलि गरेर समेत नेपाल भित्र्याइने गरिएको थियो । पछिल्लो समय भन्सार प्रशासन मजबुत हुँदै गएको अवस्थामा यसरी भन्सार छलेर ल्याउने सामानका केही कमी आए यस्तो अवस्था अहिले पनि यो ट्रेन्ड पूर्ण रुपमा रोकिएको छैन ।  

त्यसरी नेपाल भित्रिने सामानहरु सीधै काठमाडौंस्थित सम्बन्धित गार्मेन्टको गोदाममा ल्याइन्छ । त्यसपछि सुरु हुन्छ त्यसको टेलरिङ । अहिले लगनटोल, भोटेबहाल, स्वयम्भु, वनस्थली, सीतापाइला, इमाडोल, ग्वार्को च्यासल लगायत क्षेत्रमा त्यस्ता गार्मेन्ट टेलरिङ उद्योगहरु सञ्चालन हुने गरेका छन् । 

सस्तोमा घरबहाल पाइने भएकोले ती क्षेत्रहरु बढी आकर्षक देखिएको हो । तीमध्ये धेरैजसो उद्योगहरु भोटेबहाल क्षेत्रका साना–साना ‘इम्पोरियम’को नाममा चलेका हुन्छन् । सरकारी अनुगमन आएमा त्यसलाई टार्न कानूनी लहरो समाउने गरेको भए पनि यस्ता उद्योगहरुले बिलबिजक बिना नै करोडौंका करोडौंका कारोबार गर्छन् । 

सामानमा मात्रै होइन, यो क्षेत्रमा श्रमको समेत गैरकानूनी आपूर्ति हुँदै आएको छ । स्थलगत रिपोर्टिङका क्रममा भारतीय व्यवसायीले सञ्चालन गरेका अधिकांश कालीगढलाई नेपाली बोल्न नआउने गरको भेटिएको छ । यसक्रममा कतिपयले त हिन्दीमा समेत कुरा गर्न जानेनन् । ती कालीगढ बंगलादेशबाट आपूर्ति गरिएका थिए, जसको लागि कुनै श्रम स्वीकृति लिइएको छैन । 

श्रमिकलाई छैन सामाजिक सुरक्षा
त्यसो त त्यसरी आउने श्रमिकको सामाजिक सुरक्षाको अवस्था ज्यादै नाजुक छ । त्यसरी आपूर्ति गराइने श्रमिकले दैनिक १७ घण्टासम्म काम गर्छन् । तर उनीहरुको मासिक कमाई ज्यादै न्यूनमात्रै हुन्छ । नेपालको श्रम कानूनले अहिले श्रमिकको ८ घण्टाको न्यूनतम तलब १५ हजार रुपैयाँ तोकेको छ । त्यसभन्दा बढी हुने कामका लागि तलबको डेढगुणा रकम तोकिएको छ । यस हिसाबले १७ घण्टा काम गर्दा उनीहरुले ३५ हजार रुपैयाँभन्दा बढी कमाउनुपर्छ । 

आवासको व्यवस्था भएकाहरुलाई समेत खाना तथा आवासको न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने अवस्था छ । तर, विदेशबाट ल्याइएका कामदारहरु एउटै कोटामा १७÷१८ जनासम्म सुत्नुपर्ने र त्योपनि पालैपालो गरेर जीविका चलाइरहेको अवस्था स्थलगत रिपोर्टिङको क्रममा भेटिएको छ । 

सबैभन्दा सजिलो चाहिँ कामदारको ‘हायर एण्ड फायर’ हो । श्रम कानून अनुसार ज्याला नपाउनु भन्दा पनि चाहिएको बेला ल्याउने र नचाहिएको बेला फर्काउन सजिलो समेत हुने भएकोले अधिकांश व्यवसायीको रोजाइमा ती कामदारहरु नै पर्छन् । नेपाली कामदारले बाहिरको बजार बुझ्ने र बढी ज्याला र सामाजिक सुरक्षाका लागि बागर्नेनिङ गर्ने भएकोले नेपालीको रोजाइमा उनीहरु नपर्ने गरेका हुन् । 

‘नेपालीलाई खानबस्न प्रतिमहिना १० हजार खर्च गर्नुपर्छ । यिनीहरुको खर्च ४ हजार पनि हुँदैन । चाहिएको बेला ल्याउने, नचाहिँदा पठाउने गर्न पनि सकिन्छ,’ भोटेबहालस्थित अर्का एक भारतीय व्यापारी भन्छन्, ‘नेपालीले भन्दा इन्डियनले छिटो काम पनि गर्छन् ।’ ती व्यापारीले अहिले ५० जना कालीगढ राखेर कपडा उद्योग सञ्चालन गरिरहेका छन् । 

कतिपय सीप नभएकालाई सीप सिकाउन समेत नेपालमा ल्याइने गरेको छ । यसरी सस्तो सामान र सिकारु कामदार ल्याएर काम गराउँदा उनीहरुको सामान निकै सस्तो पर्नजाने युनियनका अध्यक्ष रिजालको भनाइ छ ।  
श्रमिक सम्बद्ध ट्रेड युनियनले यो क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा लागु गराउने सम्बन्धमा प्रयास नगरेको पनि होइन । तर, मालिकमात्रै होइन, श्रमिक आफैंले नचाहेको कारणले यो प्रयास सफल हुन नसकेको नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राई बताउँछन् । 

‘जहाँको श्रमिक भए पनि नेपालको सीमाभित्र काम गरेपछि नेपाली कानूनअनुसार तलबभत्ता पाउनुपर्छ । हायर एण्ड फायरको नियम पनि त्यहीअनुसार हुनुपर्छ । काम गरुञ्जेलको सामाजिक सुरक्षा, आवास, बीमाको व्यवस्था पनि हुनुपर्छ भनेर हामीले भनेका हौं,’ राई भन्छन्, ‘तर, उनीयहरुलाई यसको मतलब नै छैन । यहाँ भारतमात्रै होइन बंगलादेशबाट समेत कामदार आउने र श्रम स्वीकृति नै नलिई काम गर्ने समेत छन् । आफ्नो हक अधिकार भन्दा श्रम स्वीकृति नलिई काम गर्दा आफैं कारबाहीमा पर्ने डर बढी छ ।’

ट्रेडमार्कको दुरुपयोग
यो क्षेत्रले सबैभन्दा समस्यामा पारेको चाहिँ ट्रेडमार्ककको दुरुपयोग हो । प्रख्यात विदेशी ब्राण्डहरुको ट्रेडमार्कको हुबहु नक्कल गरेर बजारमा सोही ब्राण्डका कपडाहरु पठाउने चलन बढेको छ । द नर्थ फेस, निक, पुमा, एडिडासजस्ता ब्राण्डको लोगो कमसल कपडाहरुमा छिनको छिनमै प्रिन्ट गर्ने गरिन्छ । करोडौंका मेसिन ल्याएर एकैपटक सयौं कपडामा यस्तो लोगो छाप्ने गरिएको छ । 

यसरी अवैध ट्रेडमार्कको धन्दाले विश्व बजारमा नेपालको छवि धमिल्याउने मात्रै नभएर ब्रान्डेड सामानको नाममा व्यापारीले ग्राहकलाई ठग्ने क्रम समेत बढ्दै गएको छ । सामान हेरेर त्यसको गुणस्तर नचिन्नेलाई ट्रेडमार्क नै गुणस्तर पहिचानको प्रमुख आधार हो । तर, नक्कली ट्रेडमार्ककै कारण अहिले ब्राण्डप्रतिको विश्वास शून्यप्रायः भइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.