केन्द्रीय संस्करण

बाछिटामा नवरस : समीक्षात्मक टिप्पणी

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

- भरत सिग्देल

नेपाली साहित्यमा बालकृष्ण सम, लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाको काल शास्त्रीय छन्द र रसको उर्वराकालको रूपमा वर्णित छ। उत्तरआधुनिकताको विकाससँगै घोषित रूपमै निश्चित रस विशेषमा अधारित भै काव्य सृजना गर्ने परम्परा विखण्डित भएको अवस्थामा साहित्यकार अमर त्यागीद्वारा खगेन्द्र बस्यालको सहयोगमा प्रवर्तित ``बाछिटा´´विधा शैशवावस्थाबाट बाल्यावस्थातर्फ बामे सर्दै गर्दा केही सर्जकहरूले रस विशेषमा आधारित भई काव्य सृजना गर्ने शास्त्रीय परम्परालाई पुनर्जागृत गर्ने कसरत गरिरहेका छन् । बाछिटामा नवरस प्रयोगको अवस्था बारे समीक्षात्मक टिप्पणी गर्ने उद्देश्यले तयार गरिएको यो संक्षिप्त आलेखलाई ``रसको परिचय´´,``रसका अङ्गहरू´´ र``बाछिटामा नवरसको प्रयोग ´´ गरी तीन खण्डमा सङ्गठित गरिएको छ।

(क) रसको परिचय:

ईशाको दोस्रो शताब्दीमा आचार्य भरतमूनिद्वारा नाट्यशास्त्रको विवेचना गर्ने क्रममा व्यक्त रससूत्रलाई नै पूर्वीय काव्यशास्त्रमा विख्यात साहित्यिक रस सिद्धान्तको आधारतत्त्व मानिन्छ । काव्य रचना हेर्दा ,पढ्दा वा सुन्दा दर्शक,पाठक वा श्रोताले प्राप्त गर्ने अलौकिक आनन्द वा अनुपम मानसिक सन्तुष्टि नै रस हो। आचार्य भरतमूनिले आफ्नो नाट्यशास्त्रमा शृङ्गार, वीर,करुण,हास्य,रौद्र ,भयानक,अद्भुत र बीभत्स गरी आठ किसिमका रसको स्पष्ट उल्लेख गरेका छन् । कतिपय विद्वानहरूले नवौं रस अर्थात शान्त रसको व्याख्याता पनि उनैलाई मानेका छन् भने,कतिपयले नवौं (शान्त)रस प्रतिपादनको श्रेय उद्भटलाई दिएका छन् । पूर्वीय साहित्यमा यसका अतिरिक्त वात्सल्य, भक्ति र प्रेयान समेत गरी १२ किसिमका रसहरूको चर्चा गरिएतापनि नेपाली साहित्यमा वात्सल्य,भक्ति र प्रेयान रसलाई समेत अघिल्ला रसहरूमै समायोजन गरी नवरसको मान्यता अङ्गिकार गरिएको पाइन्छ।

(ख) रसका अङ्गहरू:

प्रत्येक साहित्यिक रसका चारवटा अङ्ग हुन्छन् । ती अङ्गलाई भाव भनिन्छ। चार किसिमका भावहरूको योगबाट एउटा सिङ्गो रसको जन्म हुन्छ। यहाँ तिनीहरूको संक्षिप्त चर्चा गरिन्छ।

(अ) विभाव: जुन वस्तु,विषय वा घटनाका कारणले मानव मनमा स्थायी रूपले डेरा जमाएर बसेको स्थायी भाव प्रष्फुटन हुन्छ, त्यही कारक तत्वलाई नै विभाव भनिन्छ। विभाव दुई किसिमका हुन्छन् । ती हुन् : आलम्बन विभाव र उद्दीपन विभाव । अन्तस्करणमा लुकेको स्थायी भाव बाहिर निकाल्न प्रमुख भूमिका खेल्ने विभावलाई आलम्बन विभाव भनिन्छ भने सहायक भूमिका खेल्ने विभावलाई उद्दीपन विभाव भनिन्छ। जस्तैः शत्रुका सेना वा हतियार देखेर लडाइँमा अगाडि बढ्ने उत्साह पैदा हुन्छ भने शत्रुका सेना आलम्बन विभाव र हतियार उद्दीपन विभाव हुन् ।

(आ)स्थायी भाव: कुनैपनि विभावका कारण अन्तस्करणमा अन्तर्निहित भाव जागृत भएर बाहिर आउँछ । अर्थात् , पाठक , श्रोता वा दर्शकका मनमा स्थायी रूपले लुकेर बस्ने तर विभावको प्रभावका कारण प्रष्फुटित भई बाहिर निस्कने भाव नै स्थायी भाव हो। माथिको उदाहरणमा शत्रुको सेना वा हतियार विभाव हो भने सेना वा हतियार देखेर लडाइँमा सहभागी हुन जागेको उत्साह स्थायी भाव हो।

(इ)सञ्चारी भाव : स्थायी भावको प्रष्फुटन हुनासाथ त्यसको असरले मानसिक उथलपुथलको सञ्चार हुन्छ । त्यस्तो मानसिक उथलपुथललाई सञ्चारी भाव अर्थात् व्यभिचारी भाव भनिन्छ। माथिको उदाहरणमा शत्रुका हतियार वा सेना देखेर पैदा भएको उत्साहका कारण मानसपटलमा रोमाञ्चको सञ्चार भई रोमहर्षण हुन जान्छ। यसरी सञ्चार हुने रोमाञ्च सञ्चारी भाव हो।

(ई) अनुभाव : विभावका कारण प्रष्फुटित स्थायी भाव र स्थायी भावका कारण उत्पन्न हुने सञ्चारी भावबाट उद्धेलित भई देखाउने शारीरिक प्रतिक्रियालाई अनुभाव भनिन्छ। माथिको उदाहरणमा शत्रुका सेना वा हतियार देखेर पैदा भएको उत्साहका कारण रोमाञ्चित भई अस्त्रप्रहार गर्नु अनुभाव हो।

यसरी, उल्लेखित चारै किसिमका भावहरूको संयोजनबाट साहित्यका पाठकले अनुभूत गर्ने अलौकिक आनन्द वा अनुपम मानसिक सन्तुष्टि नै रस हो।

(ग) बाछिटामा नवरस :

लक्षणा वा व्यञ्जना शब्दशक्तिको सहायतामा मूलतः दृश्य वा अदृश्य प्रकृतिपरक बिम्ब मार्फत पहिलो, दोस्रो र तेस्रो पंक्तिका तीन,पाँच र तीन अक्षरहरूले क्रमशः विषयवस्तुको उठान,बिस्तार र गहन ढंगबाट पुष्टि गर्ने तथा पाठक ज्ञानेन्द्रीयमा चमत्कारपूर्ण रसास्वादन गराउने सामर्थ्य बोकेको लघुत्तम काव्यरुप नै बाछिटा हो।

तीन पंक्तिपुन्जमा रचना गरिने एघार अक्षरको एउटै बाछिटाले पाठक मानसपटलमा कसरी अनुपम सन्तुष्टि वा अलौकिक आनन्दको रसास्वादन गराउँछ त ? यो खण्डमा बाछिटा सर्जकहरूले घोषित रूपमै सृजना गरेका``नवरसमा बाछिटा´´ का केही विन्दु टिपेर तिनलाई रस सम्बन्धी शास्त्रीय मान्यताको कसीमा घोट्ने प्रयास गरिएको छ।

१. शृङ्गार रस : स्त्री र पुरुषका बीचमा हुने प्रेम सम्बन्ध र त्यसको परिणामसँग सम्बन्धित रसलाई शृङ्गार रस भनिन्छ। शृङ्गार दुई किसिमका हुन्छन् । ती हुन् : संयोग शृङ्गार र वियोग वा विप्रलम्भ शृङ्गार। प्रेम सम्बन्धको सुखद परिणामसँग सम्बन्धित शृङ्गार संयोग वा सम्भोग शृङ्गार हो भने दुखद परिणामसँग सम्बन्धित शृङ्गार वियोग वा विप्रलम्भ शृङ्गार हो। नायक नायिकाबीचको रतिक्रीडा दुवै किसिमका शृङ्गार रसका निम्ति आलम्बन विभाव बन्दछ । यसमा उद्दीपन विभाव भने अलग अलग हुन्छन् । एकान्त ठाउँ ,कोइलीको स्वर र भोगविलासका सामग्री आदि संयोग शृङ्गारका उद्दीपन विभाव हुन् भने विगतमा संयोगावस्थामा उपभोग गरिएका साधनको दृश्य वा स्मृति विप्रलम्भ शृङ्गारका उद्दीपन विभाव बन्दछन् । त्यसैगरी , दुवै किसिमका शृङ्गाररको स्थायी भाव रति वा परस्पर प्रेम हो। त्यस्तै, प्रेमपूर्ण दृष्टि ,कटाक्ष र पसिना आउनु संयोग शृङ्गारका अनुभाव हुन् भने सम्भोगका निम्ति हुने छटपाटाहट विप्रलम्भ शृङ्गारको अनुभाव हो। त्यसैगरी, लज्जा संयोग शृङ्गारको र उत्सुकता , चिन्ता आदि विप्रलम्भ शृङ्गारका सञ्चारी वा व्यभिचारी भाव हुन् । शृङ्गार रसमा सृजित एक जोर बाछिटाका हेरौं :

(क) रातमा
मायाको याद
साथमा
- अम्बिका धिताल

यहाँ प्रेमी र प्रेमिकाबीचको विगतको सम्बन्ध अप्रत्यक्ष ढंगले आलम्बन विभाव र रातको याद उद्दीपन विभावको रूपमा प्रस्तुत भएको छ। यसबाट पाठक हृदयमा स्थायीभावको रूपमा लुप्त `रति´को उत्कट चाहना विष्फोट भई विप्रलम्भ शृङ्गारको रसास्वादन गर्दछन् ।

(ख) जुनेली
प्रेम लीलाको
मझेरी
- केशब बैरागी माइलो

यस बाछिटामा सर्जकले प्रेमलीला मञ्चन गर्ने नायक नायिकालाई नेपथ्यमा राखेर आलम्बन विभावको रूपमा सम्भोगको निम्ति प्रेरित गरेको सङ्केत गरेका छन्। त्यस्तै,जुनेली रातलाई घरको मझेरीमा रहेको शयन कक्षसँग तुलना गर्दै उद्दीपन विभावको रूपमा प्रस्तुत गरेर बाछिटाका विन्दु मार्फत पाठक मनमा निहित स्थायी भाव `रति´ मुखरित गराई शृङ्गार रस पिलाइएको छ।

२. वीर रस : शत्रु वा विपक्षीको पराक्रम,उदारता वा दानशीलताबाट प्रभावित भई उत्साहित बनाउने सामर्थ्य बोकेको रस नै वीर रस हो। शत्रु वा विपक्षी यो रसका आलम्बन विभाव हुन् भने शत्रुले प्रयोग गरेका अस्त्र वा स्थान यसका उद्दीपन विभाव हुन् । यी विभावका कारण प्रष्फुटन हुने उत्साह स्थायी भाव हो भने उत्साहका कारण मानसपटलमा सृजना हुने गर्व, धैर्य,रोमाञ्च जस्ता उथलपुथल यसका सञ्चारी भाव हुन् । त्यस्तै, शत्रुप्रति गरिने अस्त्रप्रहार, कटु वचन ,उद्धार , दान आदि यसका अनुभाव हुन् । वीर रसमा युद्धवीर,धर्मवीर,दानवीर र दयावीर समेत चार प्रकारका वीरहरूको वीरता अन्तर्गर्भित हुन्छ। वीर रसमा सृजित एक जोर बाछिटाका हेरौं :

(क) सलाम
सिमाना कोर्ने
कलम
- डा. सदानन्द कँडेल

यहाँ नेपालको सिमानामा धावा बोल्ने विदेशी शक्ति आलम्बन विभावको रूपमा अप्रत्यक्ष ढंगले प्रस्तुत भएको छ। त्यही विभावबाट प्रभावित भई नेपाली हृदयमा रहेको `उत्साह´ स्थायी भावको रूपमा प्रष्फुटित भएको देखिन्छ। राष्ट्रियताको रक्षाको निम्ति कलमरूपी हतियार बोकेर सिङ्गो देश एक ढिक्का भई जुर्मुराउँदा लिम्पियाधुरा,लिपुलेक सहितको नयाँ नक्सा जारी गर्न र संविधान संशोधन गरी निशाना छाप समेत परिवर्तन गरेर विदेशी विस्तारवादी शक्तिलाई चुनौती दिएको दृष्टान्त पेश गर्दै अस्त्रप्रहारको अनुभाव प्रस्तुत गरेर पाठकलाई वीर रसको रसास्वादन गराउन प्रस्तुत बाछिटा सफल देखिन्छ ।

(ख) साहस
वैरीका सामु
पहाड
- पूर्ण चाम्लिङ

यहाँ वैरीलाई आलम्बन विभावको रूपमा प्रस्तुत गरी पाठक अन्तस्करणबाट स्थायी भाव `उत्साह´ बाहिर निकालिएको छ। बाछिटामा नजर लगाउँदै गर्दा पाठक मानसपटलमा सञ्चारीभावमूलक रोमाञ्चकारी उथलपुथल सृष्टि भई पहाड जस्तै अडिग बनेर युद्ध मोर्चामा भिडेको अनुभावमूलक प्रकृतिपरक बिम्ब मार्फत वीर रसको अलौकिक रसास्वादन भैसकेको हुन्छ।

३. करुण रस: प्रीय व्यक्ति वा वस्तुसँगको वियोग वा नाश र अप्रीय व्यक्ति वा वस्तुको प्राप्तिबाट निस्कने स्थायी भाव शोक हो। यसमा गुमेको व्यक्ति वा वस्तु आलम्बन र तिनको स्मरण गराउने स्थान,बस्ती वा सन्दर्भ उद्दीपन विभाव हुन्छन् । यसमा शोकका कारण उत्पन्न हुने,ग्लानी ,चिन्ता जस्ता मानसिक उथलपुथल व्यभिचारी भाव र रुनु,कराउनु जस्ता प्रतिक्रिया अनुभाव बन्दछन् । साहित्यका पाठकले `शोक´ स्थायीभावको माध्यमबाट प्राप्त गर्ने रस नै करुण रस हो। करुण रसमा सृजित एक जोर बाछिटा हेरौं :

(क) शिकार
वनैमा छुटे
धिक्कार !
- भरत सिग्देल

यहाँ शिकार आलम्बन विभाव, वन उद्दीपन विभाव,चिन्ता व्यभिचारी भाव र `शोक´ स्थायी भावको रूपमा अभिव्यक्त भएर एकमुष्ट रूपमा पाठकलाई शोक रसको आस्वाद गराइएको छ।

(ख) भिखारी
आँसुले आँखा
तिखारी
- महेन्द्रमान बलामी

यहाँ भिखारी शब्दको प्रयोगले भिखारीको गुमेको सम्पतिलाई आलम्बन विभावको रूपमा प्रस्तुत गर्न खोजिएको छ। धननाशको पीडामा रोएको अनुभाव मार्फत स्थायी भाव `शोक´ जागृत गराई बाछिटाको माध्यमबाट पाठकलाई करुण रसको आस्वाद गराउन सर्जक सफल देखिन्छन् ।

४. हास्य रस: विभावको रूपमा प्रस्तुत विकृत आकार भएका वस्तु, तथा हास्यास्पद वचन एवं भेषभुषाका कारण प्रष्फुटन हुने स्थायी भावमूलक हाँसोको चित्रण गरिएको साहित्य सृजनामा चापल्य,अवहित्था, उत्सुकता जस्ता सञ्चारी भावमूलक मानसिक उथलपुथलबाट आँखा केही चिम्लने,ओठमा मुस्कुराहट देखिने जस्ता अनुभावमूलक शारीरिक प्रतिक्रिया अभिव्यक्त हुन्छन् । यस्तो काव्यकृतिको अध्ययनबाट पाठकले अनुभूत गर्ने अलौकिक आनन्द नै हास्य रस हो। हास्य रसमा सृजित दुई बाछिटा हेरौं :

(क) खाएका
मुहारै बाङ्गो
भएका
- खगेन्द्र बस्याल

यहाँ भ्रष्टाचारीहरूलाई तीखो व्यङ्ग्यवाण प्रहार गर्दै उनीहरूको बाङ्गिएको वा विकृत अनुहारलाई विभावको रुपमा प्रस्तुत गरेर पाठक हृदयमा लुकेको स्थायी भाव `हाँसो´को माध्यमबाट हास्य रसको आस्वाद गराइएको छ।

(ख) लिएका
टेक्ने हातले
दिएका
- पूर्ण चाम्लिङ

यहाँ जनताबाट मत लिएर जनतालाई लात मार्ने निर्दयी नेतृत्वलाई हातले टेक्ने विकृत पशुको रूपमा तुलना गर्दै `टेक्ने हात´ लाई विभाव बनाइएको छ। पाठकहरू व्यङ्ग्य मिश्रित बाछिटामा नजर लगाउँदा मानसपटलमा सृजना हुने सञ्चारीभावमूलक चापल्यका प्रभावले स्थायी भाव `हाँसो´को स्फुरण भई हास्य रसको मात लागेर पत्तै नपाई खित्का छोड्दै हाँस्न थालेको अनुभावमूलक प्रतिक्रिया देखाउँछन् ।

५. रौद्र रस : शत्रुले गरेको अपमानजनक व्यवहारबाट जागृत हुने प्रतिशोधका कारण स्थायी भाव `क्रोध´ प्रष्फुटन हुन्छ। यसमा शत्रु वा विरोधी पक्ष आलम्बन विभाव बन्छ भने उनीहरूका कटुवचन,गर्वोक्ति तथा आपराधिक क्रियाकलाप उद्दीपन विभाव हुन्छन् । गर्व, आवेग, उग्रता जस्ता व्यभिचारी भावका कारण राताराता आँखा बनाउने, ओठ टोक्ने,दाह्रा किट्ने तथा हतियार उठाउने जस्ता शारीरिक प्रतिक्रिया मार्फत अनुभाव अभिव्यक्त हुन्छ। साहित्यमा हुने यस्ता भावहरूको प्रस्तुतिबाट पाठकले रौद्र रसको रसास्वादन गर्दछन्। रौद्र रसमा सृजित एक जोर बाछिटा हेरौं :

(क) कन्पारो
ताते मुहार
अँध्यारो
- केशब बैरागी माइलो

यहाँ कन्पारो तात्नुको अर्थ आलम्बन विभावको रूपमा नेपथ्यबाट शत्रु पक्षले गरेको अपमानजनक व्यवहारका कारण `क्रोध´ नामक स्थायी भाव जागृत हुनु हो। सञ्चारी भावको रूपमा सृजित मानसिक आवेगलाई नियन्त्रण गर्न नसकी आक्रोश विष्फोट हुँदा अनुहार कालोनिलो भएको अनुभावमूलक शारीरिक प्रतिक्रियाको प्रस्तुतिकरण गरेर सर्जकले पाठकलाई रौद्र रसको रसपान गराएका छन् ।

(ख) बलैले
भाँचेका कुर्सी
ठूलैले
- खगेन्द्र बस्याल

यहाँ सदनमा सत्तापक्षको व्यवहारको प्रतिशोध लिन सभासद जस्तो उच्च ओहदामा भएका विपक्षी दलका व्यक्तिहरूबाट कुर्सी भाँचिएको सत्य घटनालाई प्रस्तुत गर्न खोजिएको देखिन्छ। सत्तापक्षको व्यवहार आलम्बन विभाव र विपक्षी सभासदको आवेगलाई सञ्चारी भावको रूपमा चित्रण गर्दै `क्रोध´ रूपी स्थायी भाव र आवेग वा उग्रताजन्य व्यभिचारी भावको प्रभावले कुर्सी भाँच्ने जस्तो आपराधिक कार्यलाई अनुभाव बनाई रौद्र रसको रसास्वादन गराउन प्रस्तुत बाछिटा सफल देखिन्छ ।

६. भयानक रस : डरलाग्दो वस्तु, घटना वा दृश्यका कारण उत्पन्न हुने स्थायी भाव `भय´ वा डरको चित्रण गरिएको साहित्य सृजनाबाट पाठकले गर्ने रसास्वादन नै भयानक रस हो। यसमा बाघ,वन,चोर,सर्प बाढी,पहिरो जस्ता भयानक वस्तु वा दृश्य आलम्बन विभाव र त्यस्ता जन्तुका भयप्रद चेष्टा, कोलाहल आदि उद्दीपन विभाव बन्दछन् । त्यस्तै, शङ्का,आवेग,चिन्ता जस्ता व्यभिचारी भावका कारण आँखा छोप्ने,चिच्याउने,चिटचिट पसिना आउने,मूर्च्छा पर्ने जस्ता शारीरिक प्रतिक्रियाको रूपमा अनुभाव अभिव्यक्त हुन्छ। भयानक रसमा सृजित एक जोर बाछिटा हेरौं :

(क) आँगन
सर्पको चित्र
जलन
- आर्त अकुलीन

यहाँ घरको आँगनमै सर्पको डरलाग्दो आकृतिको चित्रण गरेर आलम्बन विभावको प्रस्तुतिबाट स्थायी भाव `भय´ जागृत भएको देखिन्छ भने `जलन´ शब्दको प्रयोगले मानसिक विक्षिप्तताको अवस्थालाई सङ्केत गर्दै चिन्ता, आवेग जस्ता सञ्चारी भावको छनक दिएर भयानक रसको आस्वाद गराइएको छ।

(ख) माघले
खायो वनको
बाघले
- अम्बिका धिताल

यहाँ माघ महिनाको ठण्डीलाई आलम्बन विभावरूपी बाघको भयावह आकृतिसँग तुलना गरी स्थायी भाव `भय´को उजागर गरिएको छ। चिन्तारूपी सञ्चारीभावका प्रभावले आफूलाई खाइसकेको वा मरिसकेको अनुभाव अनुभूत गर्ने परिदृश्यको चित्रण गर्दै प्रस्तुत बाछिटा भयानक रसको रसपान गराउन सफल देखिन्छ ।

७. अद्भुत रस: कुनै अलौकिक वा बिचित्र किसिमको वस्तु,दृश्य वा घटनाको कारणले स्थायी भाव आश्चर्य वा विस्मयको प्रष्फुटन हुनेगरी सृजना गरिएका साहित्यबाट पाठकले लिने स्वाद नै अद्भुत रस हो। यसमा अलौकिक वस्तु वा अनौठो विषय आलम्बन विभाव र त्यस्ता वस्तु वा विषयका महिमा वा चमत्कार उद्दीपन विभाव बन्दछन् ।त्यस्तै, शङ्का,भ्रान्ति,हर्ष,आवेग,मोह जस्ता व्यभिचारी भावका परिणाम स्वरूप शरीर काँप्ने, पसिना आउने ,आँखा फैलाउने जस्ता शारीरिक प्रतिक्रिया मार्फत अनुभाव अभिव्यक्त हुन्छ। अद्भुत रसमा सृजित एक जोर बाछिटा हेरौं :

(क) सचित्र
प्रकृति भित्र
बिचित्र
- विष्णु भट्टराई `विभु´

यहाँ प्रकृतिभित्र देखिने अकल्पनीय छटायुक्त दृश्यवलीलाई प्राकृतिक भैकन पनि पराप्राकृतिक वा अलौकिक दृश्यको संज्ञा दिन खोजिएको भान हुन्छ। तिनै बिचित्र दृश्यलाई विभावको रूपमा प्रस्तुत गर्दै पाठक मनमा स्थायी भावको रूपमा निहित `आश्चर्य´लाई अन्तकरणबाट निकालेर अद्भुत रसको रसास्वादन गराउन खोजिएको छ।

(ख) आकाश
धर्तीमा स्वर्ग
झकास
- डा . सदानन्द कँडेल

यहाँ स्वर्ग आलम्बन विभावको रूपमा प्रयुक्त छ। आकशबाट धर्तीमा स्वर्ग झरेको दृश्य मार्फत सर्जकले पाठक हृदयमा स्थायी रूपमा डेरा जमाएर बसेको `आश्चर्य´ लाई बाहिर निकाल्दै स्थायी भावको झल्को दिएका छन् । सुन्दर दृश्यबाट मोहित भई मानसपटलमा हर्षको सञ्चार भएको भाव व्यक्त गरेर सञ्चारीभावको छनक दिइएको छ। दर्शकका विस्फारित लोचनले यस्तो अलौकिक छटाको सौन्दर्यावलोकन गरेको अनुभाव व्यक्त गर्न मराठी भाषाबाट आगन्तुक शब्दको रूपमा नेपाली जनजिब्रोमा भिजेको `झकास´ शब्दको प्रयोग गरी पाठकहरूलाई अद्भुत रसको सुधापान गराउन प्रस्तुत बाछिटा सफल देखिन्छ ।

८ . बीभत्स रस: कुनै घिनलाग्दो वस्तु,पात्र वा प्रवृत्तिका कारण प्रष्फुटन हुने स्थायी भाव घृणाको चित्रण गरेर सृजना गरिएको साहित्यिक कृतिबाट पाठकले बीभत्स रसको अनुभूति गर्दछ। यसमा हड्डी,मासु,रगत,शव, फोहर, सडेगलेका दुर्गन्धित पदार्थ आदि आलम्बन र त्यस्ता घृणित कुराहरूलाई स्मरण गराउने कुकुर, गिद्ध, स्याल आदिले शव खानु, दुर्गन्ध फैलनु आदि उद्दीपन विभाव हुन्छन् । त्यस्तै मोह, अपस्मार, आवेग जस्ता मानसिक उथलपुथलयुक्त सञ्चारीभाव र थुक्नु, आँखा चिम्लनु, नाक थुन्नु जस्ता शारीरिक प्रतिक्रिया यसका अनुभाव हुन् । बीभत्स रसमा सृजित एक जोर बाछिटा उदाहरण हेरौ:

(क) दुर्गन्ध
टाढै बस्दछ
सम्बन्ध
- विष्णु भट्टराई `विभु´

यहाँ दुर्गन्धित पात्रलाई विभावको रूपमा प्रस्तुत गर्दै अन्तस्करणमा डेरा जमाएर बसेको स्थायी भावरूपी `घृणा´लाई हृदयबाट बाहिर निकालिएको छ। घृणित पात्र र आफूबीचको दूरी टाढिएको शारीरिक प्रतिक्रियाको झल्को दिएर अनुभावको प्रस्तुति मार्फत सर्जकले बीभत्स रसको आस्वाद गराएका छन् ।

(ख) भूकम्प
थुइय्य ! पाजी
कलङ्क
- भरत सिग्देल

यहाँ प्राकृतिक प्रकोपको रूपमा महसुस हुने पृथ्वीको घृणित कम्पनलाई मानवीकरण गर्दै पाठक हृदयमा स्थायी भावको रूपमा अन्तर्निहित `घृणा´ जागृत गराउने विभावको रूपमा प्रस्तुत गरिएको छ। नरसंहारकारी भूकम्पलाई एउटा तुच्छ कलङ्कको संज्ञा दिएर `थुइय्य !´ गर्दै थुक्ने शारीरिक प्रतिक्रिया मार्फत अनुभावको दृश्यानुभूति गराएर पाठकहरूलाई बीभत्स रसको रसास्वादन गराउन खोजिएको छ।

९. शान्त रस : भौतिक जगतको क्षणभङ्गुरता सम्बन्धी तत्वबोधबाट प्रष्फुटन हुने स्थायी भाव निर्वेद वा वैराग्यको चित्रण गरी सृजित साहित्यबाट पाठकले शान्त रसको आस्वाद गर्न सक्दछ। यसमा निस्सार संसार,परमात्मा आदि आलम्बन विभाव र मन्दिर, तीर्थस्थल,साधुसज्जनको सङ्गत आदि उद्दीपन विभाव बन्दछन् । त्यस्तै हर्ष,धृति,निर्वेद , पश्चात्ताप जस्ता व्यभिचारी भाव र सात्विक रोमाञ्च , आँसु आदि यसका अनुभाव हुन् । शान्त रसमा सृजित तीन थोपा बाछिटा हेरौं :

(क) मन्दिर
घण्टा गुञ्जन्छ
मन्तिर
- महेन्द्रमान बलामी

यहाँ कोलाहलमय निस्सार भौतिक जगतबाट शान्तिको खोजीमा आध्यात्मिक जगततर्फ मोडिएको मानव मनको चित्रण गर्न `मन्दिर´ र `घण्टा´ जस्ता शब्दको सचेत प्रयोग गरिएको छ। परमात्मालाई अदृश्य ढंगबाट आलम्बन विभाव र मन्दिरलाई उद्दीपन विभावको रूपमा प्रस्तुत गर्दै घण्टाको आवाजबाट सात्विक रोमाञ्चको अनुभावमूलक अभिव्यक्ति दिएर स्थायी भावको रूपमा `निर्वेद´को छनक दिदैँ प्रस्तुत बाछिटा शान्त रसको आस्वाद गराउन सफल देखिन्छ ।

(ख) बगैंचा
चिसो बतास
सुगन्ध
- आर्त अकुलीन

यहाँ बगैंचा र चिसो बतास जस्ता शब्दहरू मार्फत निस्सार भौतिक जगतको लोभ, लालचबाट मुक्त भई आत्मिक शान्तिको खोजीमा बगैंचाको चिसो सुगन्धित पवनको सुधापानमा मस्त मनव मनोवृत्तिको सुन्दर चित्रण गरिएको छ । प्रस्तुत बाछिटा मार्फत बगैंचा विभाव, निस्सार संसारदेखिको मोह भंग वा `वैराग्य´ स्थायी भाव, बगैंचाको सुन्दर सुगन्धित वातवरणबाट मानसपटलमा छचल्किएको हर्ष र धृति सञ्चारीभाव तथा त्यहाँ गरिने सात्विक रोमाञ्चको अभ्यासलाई अनुभावको रूपमा व्यक्त गर्दै शान्त रसको रसास्वादन गराइएको छ।

(ग) यो तन
क्षणभङ्गुर
जीवन
- जगनाथ अधिकारी

यहाँ आफ्नो जीवनको क्षणभङ्गुरतालाई आलम्बन विभावको रूपमा प्रस्तुत गर्दै सर्जकले भौतिक सुखसयल र लोभलालचबाट वैराग्यको मार्गमा उन्मुख भएको सङ्केत गरेर बाछिटा मार्फत शान्त रसको रसपान गराएका छन् ।

समग्रमा नवरसमा बाछिटा लेखनलाई नेपाली साहित्यमै नवरस प्रयोगको पुनर्जागरण कालको झिसमिसे बिहानीको रूपमा हेर्दा कतिपय शास्त्रीय मान्यताका प्रयोगको दृश्य अलि प्रष्ट नदेखिनुलाई अन्यथा ठान्नु हुन्न। उषाको लालीकिरणसँगै विधागत मान्यताका अस्पष्टताहरू छ्याङ्ग हुँदै जाने र रस, बिम्ब,अलङ्कारले सुसज्जित गहन भाव सहितका सुन्दर बाछिटाहरूले नेपाली साहित्यको अपूर्ण ढुकुटी भर्न योगदान दिने कुराको भने सहजै आँकलन गर्न सकिन्छ ।

अन्तमा, नवरसको एउटा सानो सौगात विज्ञ पाठकवृन्दमा सप्रेम समर्पण गर्दै बिट मार्दछु।

१. शृङ्गार रस
~~~~~~~~~~
अधर
चुमेर झरे
निर्झर

२. वीर रस
~~~~~~~
सैनिक
तारोको धारो
दैनिक

३. करुण रस
~~~~~~~~
मूर्च्छित
नफक्री झरेँ
मुर्झित

४. हास्य रस
~~~~~~~~
पुच्छर
चौपाया नर
दुच्छर

५. रौद्र रस
~~~~~~~
सदन
साँढेका युद्ध
क्रन्दन

६. भयानक रस
~~~~~~~~~~
आँपको
झुप्पामा फणा
साँपको

७. बीभत्स रस
~~~~~~~~~
नेतृत्व
पिपका कुण्ड
देवत्व

८. अद्भुत रस
~~~~~~~~~
मुर्कट्टा
लडेर फुटे
कुर्कुच्चा

९. शान्त रस
~~~~~~~~
सौभाग्य
तृष्णाको घाट
वैराग्य

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.