केन्द्रीय संस्करण

कथा : ठूलो मान्छे

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

दीपक बडुवाल

हिजो फल किन्न भनेर बजार गएको थिएँ, फल बेरीको कौसीमा झुन्डिएको एउटा सानो बोर्ड देखेँ । त्यसमा ठूला र मोटा अक्षरमा लेखिएको थियो, ‘घरमा कोही छैन, मेरी बूढी आमा बिरामी छिन्, उहाँलाई पटक पटक खाना, औषधि र शौचालय पु¥याउनका लागि मलाई घर जानुपर्छ, यदि तपाईं हतारमा हुनुहुन्छ भने फल आफ्नै इच्छाले तौल गर्नुहोस्, मूल्यसूची त्यहीँ टाँसिएको छ । कुनामा रहेको बोरीको टुक्राको मुनि पैसा राखी दिनुहोला । धन्यवाद ! यदि तपाईंसँग साँच्चै नै पैसा छैन भने मेरो तर्फबाट  लिनुहोला, अनुमति छ ।’

मैले वरिपरि हेरेँ, छेउमा रहेको तराजुमा दुई किलो स्याउ तौलेँ, एक दर्जन केरा लिएँ, झोलामा राखेँ, मूल्य सूचीमा दर हेरें, खल्तीबाट पैसा झिकेर बोरीको टुक्रामुनि राख्नलाई बोरी उठाएँ, त्यहाँ सय पचास र दस रुपैयाँका नोटहरू थिए । मैले पनि त्यसैमा पैसा राखेँ र त्यसलाई त्यस्तै ढाक्दै झोला उठाएँ र घरतिर फर्किएँ ।

राति खाना खाइसकेपछि यसो अलि घुमघाम गर्नका लागि म त्यसै बाटो जाँदा मैले देखेँ एउटा कमजोर मानिस, दाह्री आधा कालो आधा सेतो, च्यातिएको फोहोर सुरुवाल कुर्तामा त्यही फलबेरीलाई धकेल्दै जान तयार थियो, मलाई हेरेर मुस्कुराउँदै भन्यो, “सर ! माफ गर्नुहोला, फलहरू त सकियो ।”

“हैन, फल त बेलुकातिर तपाईंको यसै फलबेरीबाट मैले किनेर लगिसकेको थिएँ ।” मैले भनेँ ।

“धेरै धेरै धन्यवाद हजुरलाई !” उनले मुस्कुराउँदै कृतज्ञता व्यक्त गरे ।

मैले सोधेँ, “तपाईंको नाम के हो नि ?”

उनले भने, “सीताराम..!”

किन हो किन, मेरो मनमा सीतारामजीसँग केही अरू कुराकानी भएको भए भन्ने लागिरहेको थियो । 

मैले अनुरोध गरेँ, “सीतारामजी, अलि परबाट एउटा ढाबा छ, एक एक कप चिया खाऊँ न, हुन्न र ?”

सीतारामजीले मुस्कुराऊँदै आफ्नो टाउको हल्लाएर सहमति जनाउनुभयो ।

त्यसपछि हामी अगाडि ढाबामा बस्यौँ । चिया पनि आयो । मेरो जिज्ञासा निरन्तर बढ्दै थियो,  सोधेँ, “सीतारामजी, तपाईंको फलबेरीमा झुन्डिएको बोर्ड कहिलेबाट हो ?”

“भयो होला सर, दुई ढाई वर्ष जति !” उहाँले चिया पिउँदै जबाफ दिनुभयो ।

“कहिले तपाईंको फलहरू र पैसा चोरी हुँदैन ? यसरी फलबेरीमा आफू नरहँदा ! खुल्दुलीले सोध्न लगाएको प्रश्न पोखेँ ।

“गरिबको कसले के लान्छ र सर ?” चियाको कप टेबुलमा राख्दै जबाफ दिनुभयो सीतारामजीले  ।

“अनि तपाईंकी आमालाई के भएको हो नि ?” मेरो जिज्ञासा जारी नै थियो ।

उनले भने, “मेरी आमा विगत तीन वर्षदेखि ओछ्यानमा हुनुहुन्छ । तीन वर्षअघि पक्षाघात भएको थियो, त्यसैले हो कि अलिकति पागल जस्ती पनि भइसकेकी छिन् र अब त अवस्था झन झनै नराम्रो हुँदै गइरहेको छ । आमाको हेरचाह गर्ने कोही पनि छैन, त्यसैले मैले सधैँ आमाको हेरचाह गर्नुपर्ने हुनाले बेलाबेला फलबेरी छोडेर आउनु पर्ने हुन्छ ।”

“अनि तपाईंकी श्रीमती ?” मैले प्रश्न गरेँ ।

“छैन सर, अढाई वर्षअघि देहान्त भई हाल्यो ।” शान्त जबाफ सीतारामजीको ।

 

“ओह... सरी !” मैले पनि दुःख व्यक्त गरेँ ।

“यस्तै त हो सर, गरिबको जिन्दगी...!” लामो सास फेर्दै सीतारामजीले भन्नुभयो ।

केहीबेर हामी दुबै चुप लाग्यौँ ।

“छोराछोरीहरू कति छन् र कहाँ छन् त नि ?” मैले फेरि प्रश्न गरेँ ।

“आजभोलिका छोराछोरीहरूको के कुरा गरौँ सर ? समय धेरै बदली सक्यो, पहिले जस्तो कहाँ छ र अब समय ?” आँसु भरिसकेका थिए सीतारामजीको आँखामा । भन्नुभयो, “हुन त चार छोराछोरीहरू छन् सर ! १ एक छोरी तीन छोरा । सबैको बिहे भइसक्यो, सबै छुट्टाछुट्टै बस्छन् । छोरी दाङ पोइल छे । जेठो छोरो बुटवल छ । माइलो र कान्छो यतै काठमाडौँमा नै छन् तर आफ्नै घरपरिवारमा व्यस्त छन् हजुर । बिहे भइसकेपछि जोईहरूको भनाइमा लागेर छुट्टा गइहाले । पहिले त कहिले काहीँ दशैँतिहारमा आउने गर्थे तर अब आउँदैनन् ।”

“ईश्वरको लीला पनि कस्तो रहेछ ? कसैलाई पुगेर पनि अति छ भने कसैलाई चाहिएको पनि मिलेको छैन” भनेर मनमा सोचिरहेको थिएँ, अचानक सीतारामजीको आवाज कानमा पर्यो ...। “बुढेसकाल यस्तै हुँदो रहेछ साहब, दुःखको जिन्दगी ! छोराहरूले आमाबुवाको सेवा गलान्, बुढेसकालमा कमाएर देलान् भन्ने नसोचे पनि भयो ।”

मलाई पनि झ्याट्टै आफ्नो छोराको सम्झना आयो । उसले पनि त यस्तै गर्ने होला । बिहे भइसकेपछि । खैर मैले अहिलेबाटै त्यति चिन्ता किन लिनु, आफ्नो आफ्नो भाग्य र समयको कुरा त हो । जीवनमा दुःख लेखिएको छ भने कसको के लाग्छ र ? भन्ने सोचेर म सीतारामजीतिर फर्किएँ, “तपाईं त धेरै राम्रो मान्छे हुनुहुँदो रहेछ सीतारामजी, आमालाई एक छिनका लागि पनि छोड्नुहुन्न, उहाँको यति सेवा गरी रहनुभाछ ! यस्तो छोरा सबै आमाहरूले पाइदिएको भए ।”

“आमाबुवाहरूको ऋण त हामीले जीवनमा कहाँ तिरी सक्नु... साहब ? तर आफ्नो धर्मलाई न बिर्सेर उहाँहरूको सेवा गर्नु नै हाम्रो परम कर्तव्य हो !” उहाँले कुरा जारी राख्नु भयो, “एक दिन म आमाको खुट्टा दबाउँदै थिएँ, आमालाई भनेँ, “आमा, तपाईंको सेवा गर्ने चाहना त धेरै छ मनमा तर के गर्नु ? खल्ती खाली छ... र तपाईंले पनि मलाई कोठाबाट बाहिर जान दिनुहुन्न । भन्नुहुन्छ, “तँ गइस् भने म धेरै व्याकुल हुन थाल्छु ।” तपाईं आफै भन्नुहोस् त म के गरूँ ? मसँग न त कुनै जमापुँजी नै छ । काम गर्न त बाहिर जानुपर्यो नि...!

यो सुनेर आमाले हडबडीमा काम्दै उठ्ने कोसिस गरिन् । मैले सिरानीको ओट लगाएँ, उहाँले आफ्नो चाउरी परेको अनुहार उठाउनुभयो, आफ्ना कमजोर हातहरू माथि उठाउँदै मनमनै प्रभुको स्तुति गर्दै भन्नुभयो, “तँ त्यो फलबेरी त्यहीँ छोडेर आउने गर । हाम्रो भाग्यमा भएको हामीले यसै कोठामा बसेर पनि पाउनेछौँ ।”

मैले भने, “आमा, कस्तो कुरा गर्नुहुन्छ तपाईं ? यदि मैले फलबेरीलाई त्यहाँ छोडिदिएँ भने चोरले सबैथोक लगेर जान्छ । अनि मालिक बिना फल किन्न को आउनेछ ?”

उनी बोल्न थालिन्, “तँ प्रभुको नाम लिएर फलबेरी त्यहीँ छोडेर आइज बस, धेरै कुरा नगर । बेलुका घर आउँदा रित्तो फलबेरी ल्याएर आउनू, यदि तेरो पैसा चोरियो भने मलाई भनेस ।”

“अढाई वर्ष भइसक्यो साहब । बिहान भरेको फलबेरी लिएर जान्छु, साँझमा रित्तो फिर्ता ल्याएर आउँछु, मानिसहरू पैसा राख्छन् । फल लैजान्छन्, एक पैसा पनि तलमाथि हुँदैन । बरु केहिले त पैसा पनि धेरै राखिदिन्छन्, कहिलेकाहीँ कसैले आमाका लागि फूल राखिदिन्छन् भने कसैले अरू केही चिज । अस्ति त एउटी नानीले हलवा राखेर गइन्, साथमा एउटा पर्ची थियो जसमा लेखिएको थोयो, “आमाका लागि ।” एक डाक्टरले आफ्नो कार्ड छोडेर जानुभएको थियो, पछाडि लेखिएको थियो, “आमालाई गाह्रो भयो भने मलाई कल गर्नू, म आऊँला ।” कसैले धुलो राख्छ, कसैले कपडा नै राख्छ, प्रत्येक दिन मनकारीहरूले केही न केही राखिदिएका हुन्छन् साहब । न त आमा मलाई कतै जान दिनुहुन्छ, न मेरो प्रभुले मलाई कुनै पनि चिजको कमी हुन दिन्छन् । आमा भन्ने गर्छिन्, “तेरा सबै फल त मेरा प्रभुले आफ्ना दूतहरूबाट बिक्री गराइदिन्छन् ।”

म एकटक सीतारामजीको अनुहारमा निहाली रहेको थिएँ ।

“हवस त साहब, समय पनि धेरै भइसक्यो लागौँ त घरतिर ।” सीतारामजीले हात जोड्दै भन्नु भयो ।

मैले उहाँका जोडिएका हातहरूलाई आफ्नो दुवै हातले थामेँ, अलि दबाउँदै उहाँलाई भनेँ, “हुन्छ, सीतारामजी ! अहिलेका लागि जाऊँ, फेरि भेट्दै रहौँला ।”

त्यहाँबाट हामी आफ्नो आफ्नो बाटो लाग्यौँ । अर्को दिन बिहान केही दिनका लागि मलाई अफिसको कामले भैरहवा जानुथियो । त्यसकारण म घर पुगेर कपडा प्याकिङ गरिसकेपछि सुत्न चाहेँ तर मनमा सीतारामजीको दैनिकी र उहाँले गरिरहनुभएको आमाको सेवाको बारेमा सोच्दासोच्दा कतिखेर निदाएँ, थाहै भएन ।

आज दुई हप्तापछि म भैरहवाबाट फर्किएँ । घर पुग्नुभन्दा अघि घरका लागि केही फल र तरकारी लैजाऊँ भन्ने सोच्दा सीतारामजीको सम्झना आयो र लागेँ सरासर उहाँकै फलबेरीतिर । कौसीमा झुन्डिएको बोर्ड, बोरीको टुक्रा, पैसा, फल... आदिको बारेमा सोच्दा सोच्दै म पुगिहालेँ उसै फलबेरीमा । तर आज त्यहाँ झुन्डिएको बोर्ड थिएन । सीतारामजी आफै फलबेरीको छेउमा उभिरहनु भएको थियो । कपाल, दाह्री जुँगा सब खौरिएको थियो । मैले उहाँको टाउकोतिर इसारा गर्दै सोधेँ, यो किन ? भनेर । “आमा गइहाल्नुभयो साहब.. आफ्नो प्रभुकहाँ !” सीतारामजीले मतिर हेर्दै रुआँसो स्वरले जबाफ दिनुभयो ।

“कहिले ?”

“हिजो उम्किने काम भयो, साहब ।”

“के गर्ने सीतारामजी ? दैवले लेखेको नभइ नहुने रै छ  । जे होस् अब आमाले मुक्ति पाउनुभयो । उहाँको बैकुण्ठमा बास होस् ।” भन्दै मैले उहाँलाई सान्त्वना दिने प्रयास गरेँ ।

“सब प्रभुको इच्छा साहब ।” भन्दै सीतारामजीले एक किलो स्याउ र एक दर्जन केरा प्याक गरेर मलाई दिँदै भन्नुभयो, “साहब... यो घर लैजानुहोस् मेरोतर्फ बाट ।” मैले पैसा दिन खोज्दा उहाँले लिनुभएन । हात जोड्दै र हल्का मुस्कुराउँदै भन्नुभयो, “भोलिबाट...” ।

फल लगेर घर जाँदा बाटोमा सोच्दै थिएँ, “मानिस पैसाले ठूलो हुँदैन रहेछ । ठूलो हुँदो रहेछ निःस्वार्थ मायाले, राम्रो स्वभावले, सतकर्मले, ‘मानवीय व्यवहारले र पवित्र नियतले ।”

आज पञ्चगुणको धनी ठूलो मान्छेसँग भेटेर आउँदा मन धेरै प्रसन्न थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.